: कांग्रेसको संस्थापनइतर समूहले शेरबहादुर देउवालाई पार्टी ‘सभापति’ को मान्यता दिँदै उनकै नेतृत्वमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ।
विशेष महाधिवेशनमा भाग नलिएको देउवा समूहले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिकै निर्णय र आयोजनामा १५औं महाधिवेशन गर्ने निर्णय गरेको हो। यद्यपि, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको संस्थापन पक्षले १६ देखि १९ असोजमा १५औं महाधिवेशन आह्वान गरिसकेको छ।
उपचार गरेर स्वदेश फर्केका देउवाको नेतृत्वमा भएको राष्ट्रिय सम्मेलनले देउवालाई पुनः केन्द्रमा राखेर पार्टीको आगामी राजनीतिक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। सम्मेलनद्वारा पारित प्रस्तावमा भनिएको छ– ‘शेरबहादुर देउवाको सभापतित्वमा १५औं महाधिवेशन सम्पन्न हुनेछ।’ देउवाकै नेतृत्वमै पार्टी एकताबद्ध भएर महाधिवेशन सम्भव हुने विश्वास व्यक्त गरिएको छ। यसले कांग्रेसमा पछिल्लो समय देखिएको दुईवटा समानान्तर राजनीतिक धारलाई तत्कालका लागि एउटै प्रक्रियामा ल्याउने प्रयास गरेको देखिन्छ।
विशेषगरी पार्टीको वैधानिकता, विशेष महाधिवेशन र नेतृत्वको विषयमा विवाद बढिरहेका बेला इतर समूहले देउवालाई नै आगामी महाधिवेशनसम्मको केन्द्रमा राख्नु अर्थपूर्ण देखिन्छ।
शशांकलाई संयोजनको जिम्मेवारी
सम्मेलनले १५औं महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय सम्मेलनका संयोजक डा. शशांक कोइरालाले संयोजन गर्ने निर्णय गरेको छ। यही निर्णयले कांग्रेसभित्रको शक्ति समीकरणमा अर्को महत्वपूर्ण संकेत गरेको छ। देउवालाई औपचारिक राजनीतिक केन्द्रमा राखिए पनि संगठनात्मक गतिविधिको संयोजनको जिम्मेवारी शशांकलाई दिइएको छ। यसले देउवा र कोइराला परिवारबीचको सहकार्यबाट पार्टीलाई अघि बढाउने सम्भावनाको संकेत गरेको छ।
तर, कांग्रेसभित्र यो वास्तविक एकताको आधार हो वा आगामी महाधिवेशनअघि शक्ति पुनर्संरचनाको रणनीति ? भन्ने प्रश्न उठेको छ। सम्मेलनको अध्यक्षता शशांकले गरेका थिए। उनलाई १५औं महाधिवेशनसम्मको गतिविधि संयोजन गर्ने जिम्मेवारी दिइनुले उनको राजनीतिक भूमिका बलियो बनाइएको इतर पक्षका नेताहरू बताउँछन्।
खड्का र शेखर अनुपस्थिति
सम्मेलनको उद्घाटनमा सहभागी भएका नेता पूर्णबहादुर खड्का र डा.शेखर कोइराला सम्मेलनको समापनमा अनुपस्थित देखिए। खड्का अस्वस्थ भएकाले नआएको नेता रामहरि खतिवडाले बताए। शेखरले उद्घाटन सत्रमा मात्र सहभागी हुने भनेर पहिल्य नै जानकारी गराएको नेताहरू बताउँछन्। तर, राजनीतिक रूपमा भने यो अनुपस्थितिले अर्थ दिने नेताहरू बताउँछन्।
शशांकलाई सम्मेलनको संयोजन र आगामी महाधिवेशनसम्मको गतिविधि सञ्चालनको जिम्मेवारी दिइने भएपछि शेखर र खड्काले असन्तुष्टि जनाएको उनीहरू निकट नेता बताउँछन्। भेलाको संयोजन गर्ने जिम्मेवारी सुरुमा खड्कालाई लिन आग्रह गरिएको थियो। खड्काले बिरामीको बहाना बनाउँदै पन्छिए। त्यसपछि शेखरलाई प्रस्ताव राखियो उनले सहमति जनाएनन्। अनि मात्रै शशांकलाई जिम्मेवारी दिइएको हो।
खड्का देउवाकै नेतृत्वमा कांग्रेसलाई एकताबद्ध बनाउनुपर्ने पक्षमा भए तापनि उनी पार्टी विभाजनको पक्षमा नरहेको र अदालतमा विचाराधीन विवादको फैसला पर्खनुपर्ने पक्षमा रहेको नेताहरू बताउँछन्। यसबाट कांग्रेसभित्रको मूल विवाद अब केवल ‘देउवा कि अर्को नेतृत्व ? ’ भन्ने प्रश्नमा मात्र सीमित नभई ‘पार्टीलाई कुन प्रक्रियाबाट एकताबद्ध गर्ने ? ’ भन्ने प्रश्नमा समेत केन्द्रित भएको देखिन्छ।
विशेष महाधिवेशनमाथि प्रश्न, नियमित महाधिवेशनमा जोड
देउवाले जबरजस्ती तरिकाले विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकाले पार्टीका धेरै नेताहरूलाई बाहिर राखिएको आरोप लगाएका छन्। देउवाले पार्टी आधिकारिता विवादमा अदालतबाट आउने निर्णय मान्ने बताए। सम्मेलन समापन गर्दै देउवाले भने, ‘मैले विशेष महाधिवेशन गर्न मानेको थिइनँ। मैले भनेको थिएँ (पार्टीका सबैको सहमतिले विशेष महाधिवेशन गरौं यसरी नगरौं भनेर। जबरजस्ती तरिकाले विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकाले धेरै साथीलाई बाहिर राखियो। त्यसको खिलापमा हामीहरू अदालत गयौं।’ अदालतबाट पूर्ण निर्णय आउन बाँकी रहेको उल्लेख गर्दै देउवाले भने, ‘मलाई विश्वास छ अदालतको पूर्ण निर्णय आउन बाँकी छ। त्यसअघि मैले धेरै अदालतको विषयमा धेरै बोल्नु छैन। तर, मलाई विश्वास छ मैले न्याय पाउँछु।’
न्यायालयले आफूलाई पटक–पटक न्याय दिएको उल्लेख गर्दैै देउवाले भने, ‘सर्वोच्च अदालतदेखि सबै न्यायालयले हिजोदेखि हामीलाई न्याय दिएको हो राजाले थुन्दा पनि शाही आयोगलाई खारेज गरेको हो, पञ्चायतले पनि मलाई थुनेको थियो। अहिले पनि न्यायालयले मलाई बचाएको छ, जसको कारणले म नेपालमा आइपुगेको छु।’
सम्मेलनले गत पुसमा भएको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै त्यससम्बन्धी विधानको व्यवस्था थप स्पष्ट पार्ने र आवश्यक कार्यविधि बनाउने प्रस्तावसमेत पारित गरेको छ।
सनातन धर्म ‘राष्ट्रको पहिचान’
देउवा पक्षको सम्मेलनले सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने निर्णय गरेको छ। हिन्दू, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण, धार्मिक सहिष्णुता र धार्मिक स्वतन्त्रताको सुनिश्चिततामा जोड दिएको छ। भाषणका क्रममा देउवाले आफू हिन्दु भएको तीनपटक प्रतिबद्धता जनाए पनि ‘हिन्दु राष्ट्र’ का विषयमा भने खुलेर समर्थन गरेनन्। ‘म हिन्दु हुँ। म कसैको विरोधी होइन,’ देउवाले भने, ‘नेपालमा मुस्लिम धर्म मान्ने छन्, किराँतहरू छन्। म कसैको खिलाफमा छैन। मैले आफू हिन्दु हो भन्न पाउनु पर्यो नि ! हिन्दुमा विश्वास गर्न पाउनुर्यो नि मैले। यसमा कुनै कन्फ्युजन नहोस्।’
सम्मेलनले वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न संविधानमै रहेको व्यवस्थाअनुसार सम्बन्धित पक्षसँग संवाद गर्ने निर्णय गरेको छ। यस्तै, सम्मेलनले पार्टीको संगठनात्मक संरचना सुधारका विषयलाई पनि प्राथमिकतामा राखेको छ।