मुख्य समाचार
निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग
निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग

: स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत् विधेयक निर्माण गर्नुपर्ने मागसहित ऊर्जा क्षेत्रको विकास, विस्तार र लगानीमैत्री वातावरण निर्माणका लागि तत्काल गर्नुपर्ने नीतिगत तथा कानुनी सुधारबारे जानकारी गराएको छ।

इप्पानका अध्यक्ष मोहन कुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेर उक्त जानकारी गराएको हो। इप्पानले वर्तमान विद्युत् ऐन, २०४९ निजी क्षेत्रको सहभागिता प्रारम्भिक चरणमा रहेको समयमा निर्माण भएको र विगत तीन दशकमा नेपालको ऊर्जा क्षेत्रको स्वरूप, लगानीको परिमाण, प्रविधि, क्षेत्रीय विद्युत् व्यापार तथा निजी क्षेत्रको क्षमता उल्लेखनीय रूपमा परिवर्तन भइसकेकाले अब पुरानो कानुनी संरचनाले ऊर्जा क्षेत्रका वर्तमान तथा भविष्यका आवश्यकता सम्बोधन गर्न नसक्ने बताएको छ।

निजी क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी प्रसारण, वितरण, विद्युत् व्यापार, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, कार्बन व्यापार तथा नवीन प्रविधिमा समेत समान अवसर प्रदान गर्ने, लगानीकर्ताको अधिकार सुरक्षित गर्ने, नियामकीय स्पष्टता कायम गर्ने तथा अन्तर्राष्ट्रिय स्तरको लगानीमैत्री वातावरण सुनिश्चित गर्ने गरी नयाँ विद्युत् विधेयक निर्माण गर्नुपर्ने माग इप्पानले गरेको छ। यस्तो कानुनी सुधारले सरकारले अघि सारेको ३० हजार मेगावाट विद्युत् उत्पादनको राष्ट्रिय लक्ष्य हासिल गर्न बलियो आधार तयार गर्ने इप्पानको भनाइ छ।

इप्पानले लामो समयदेखि रोकिएको करिब १७ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) तत्काल खुलाउनुपर्ने माग पनि राखेको छ। अध्ययन सम्पन्न गरी लगानीका लागि तयारी अवस्थामा रहेका हजारौं मेगावाटका आयोजनाको पीपीए रोकिँदा अर्बौं रुपैयाँ बराबरको निजी लगानी निष्क्रिय भएको, बैंकिङ प्रणालीमा लगानीको चक्र अवरुद्ध भएको र विद्युत् उत्पादन विस्तारको गति प्रभावित भएको भन्दै इप्पानले पीपीए प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य र समयबद्ध बनाउन आग्रह गरेको छ। सरकारले १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको अवस्थामा नयाँ आयोजना अघि बढाउन समयमै पीपीए हुनु पहिलो आवश्यकता रहेको इप्पानको भनाइ छ।

उत्पादन क्षमताको तुलनामा प्रसारण पूर्वाधारको विकास अपेक्षित गतिमा हुन नसकेको भन्दै इप्पानले प्रसारण लाइन निर्माणमा पनि निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेको छ। प्रसारण लाइनको अभावमा कतिपय आयोजना निर्माण सम्पन्न भएर पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको र आगामी दशकमा विद्युत् उत्पादन तीव्र रूपमा बढाउने हो भने प्रसारण पूर्वाधार निर्माणलाई सरकारको एकल जिम्मेवारीमा सीमित राख्न नसकिने इप्पानले जनाएको छ। उपयुक्त मोडेलमार्फत निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउनुपर्ने उसको माग छ।

इप्पानले विद्युत् व्यापारमा पनि निजी क्षेत्रलाई कानुनी रूपमा सहभागी गराउनुपर्नेमा जोड दिएको छ। नेपालमा विद्युत् उत्पादन बढ्दै जाँदा स्वदेशमा खपत भएर बाँकी रहने विद्युत् निर्यात गर्नुपर्ने अवस्था आउने र ठूलो परिमाणमा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणबाट मात्र व्यापार तथा निर्यात गर्न सम्भव नहुने भएकाले निजी क्षेत्रको सहभागिता आवश्यक रहेको इप्पानले जनाएको छ। विद्युत् व्यापारलाई प्रतिस्पर्धी, पारदर्शी र खुला बनाउँदै निजी क्षेत्रलाई विद्युत् आयात, निर्यात तथा अन्तरदेशीय विद्युत् व्यापारमा सहभागी हुने कानुनी व्यवस्था गर्नुपर्ने माग गर्दै इप्पानले यसबाट नेपाललाई दक्षिण एसियाको स्वच्छ ऊर्जाको प्रमुख आपूर्तिकर्ता बनाउने लक्ष्यमा समेत सहयोग पुग्ने बताएको छ।

ऊर्जा पूर्वाधार विकासका क्रममा वन, वातावरण तथा जग्गा व्यवस्थापनसँग सम्बन्धित विद्यमान अवरोधहरूको दीर्घकालीन समाधान गर्नुपर्ने माग पनि इप्पानले राखेको छ। नेपालको ठूलो भूभाग वन, संरक्षित क्षेत्र, उच्च हिमाली क्षेत्र तथा अन्य प्रतिबन्धित क्षेत्रका रूपमा रहेको अवस्थामा विद्युत् उत्पादन तथा पूर्वाधार निर्माणका लागि उपलब्ध भूभाग सीमित हुँदै गएको भन्दै इप्पानले विद्यमान व्यवस्थालाई विकासमैत्री बनाउनुपर्ने जनाएको छ।

जलविद्युत् आयोजना निर्माणका क्रममा वन क्षेत्रको प्रयोग, रूख कटान, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्ति तथा विभिन्न निकायबाट स्वीकृति लिनुपर्ने प्रक्रियामा हुने ढिलाइले आयोजना निर्माणको लागत र अवधि बढाउने गरेको भन्दै वातावरण संरक्षण र ऊर्जा विकासबीच सन्तुलन कायम गर्दै एकद्वार प्रणाली, समयसीमा सहितको स्वीकृति प्रक्रिया, पूर्वनिर्धारित मापदण्ड तथा प्रभावकारी अन्तरनिकाय समन्वयको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

नदीको किनाराबाट दायाँ–बायाँ एक किलोमिटर क्षेत्रलाई संरक्षण क्षेत्रबाहिर राखी विद्युत् तथा अन्य पूर्वाधार निर्माण सहज बनाउनुपर्ने प्रस्तावसमेत इप्पानले गरेको छ। जलविद्युत् आयोजनालाई राष्ट्रिय प्राथमिकताका पूर्वाधारका रूपमा मान्यता दिई तिनको शान्ति सुरक्षा र लगानी संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने माग पनि इप्पानले गरेको छ।

जलविद्युत् आयोजना निजी कम्पनीका व्यावसायिक परियोजना मात्र नभई राष्ट्रिय ऊर्जा सुरक्षा, रोजगारी सिर्जना, स्थानीय विकास तथा विदेशी मुद्रा आर्जनका महत्वपूर्ण आधार भएको भन्दै आयोजना निर्माणका क्रममा हुने अवाञ्छित अवरोध, जबर्जस्ती बन्द, तोडफोड, स्थानीय विवाद तथा असुरक्षाका घटनाको दीर्घकालीन समाधान आवश्यक रहेको इप्पानले जनाएको छ। लगानीकर्ताको सुरक्षा, आयोजनाको कानुनी संरक्षण तथा विवाद समाधानका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने भन्दै सुरक्षित लगानी वातावरण निर्माण भएमा विद्युत् उत्पादन विस्तारको राष्ट्रिय लक्ष्य हासिल गर्न थप सहज हुने इप्पानको भनाइ छ।

इप्पानले संघ, प्रदेश र स्थानीय सरकारबीच विद्युत् आयोजना विकाससम्बन्धी क्षेत्राधिकार स्पष्ट गर्नुपर्ने माग पनि राखेको छ। आयोजना विकासका क्रममा तीन तहका सरकारको अधिकारक्षेत्र स्पष्ट नहुँदा निजी क्षेत्रले दोहोरोपन, अनावश्यक अवरोध र विरोधको सामना गर्नुपरेको भन्दै कुन तहको सरकारले कुन विषयमा निर्णय गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको इप्पानले जनाएको छ। तीनै तहका सरकारको क्षेत्राधिकार स्पष्ट भएमा आयोजना विकासका क्रममा देखिएका धेरै समस्या समाधान हुनुका साथै समय र लागत घटाएर आयोजना निर्माण गर्न सहज हुने इप्पानको निष्कर्ष छ।

इप्पानले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाउन निजी क्षेत्रलाई उत्पादनमा मात्र नभई प्रसारण, वितरण र विद्युत् व्यापारलगायत समग्र ऊर्जा मूल्य शृंखलाको पूर्ण साझेदार बनाउने गरी कानुनी, नीतिगत र नियामकीय सुधार गर्नुपर्नेमा जोड दिएको छ। साथै आगामी नीति तथा कानुन निर्माणमा निजी क्षेत्रका व्यावहारिक समस्या र सुझावलाई समेटेर लगानीको सुरक्षा, नियामकीय स्पष्टता र पूर्वानुमानयोग्य वातावरण निर्माण गर्न राजनीतिक दल तथा सरकारको ध्यानाकर्षण गराएको छ।

भेटमा इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रमा उल्लेख गरेको र पार्टी नेतृत्वको सरकारले ल्याएको १० बर्षभित्र ३० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र तयार रहेको बताए। ‘सरकार र पार्टी दुवैले ३० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ, त्यो लक्ष्य हासिलका लागि निजी क्षेत्र लगानी गर्न तयार छ।’ उनले भने–‘ यसका लागि तपाईंबाट उपयुक्त नीतिको अपेक्षा गरेका छौं, विद्येयकदेखि वनका समस्या समाधान र पीपीएसम्मका काममा हामी साथ चाहान्छौं।’

पार्टी अध्यक्ष लामिछानेले निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि कसैसँग पनि आफ्नो पार्टी र सरकारले सम्झौता नगर्ने बताए। ‘निजी क्षेत्रले गर्ने व्यवसायले देशको अर्थतन्त्र र रोजगारीका लागि ठूलो योगदान दिएको छ, यो क्षेत्रलाई असुरक्षित हुने गरी कसैले काम गरेमा यो सरकारले कारबाहीका लागि कुनै कसुर बाँकी राख्दैन’, उनले भने, ‘निजी क्षेत्रको संरक्षण गरी स्वदेशभित्र लगानी वृद्धि गरी आर्थिक समृद्धि गर्ने यो सरकारको दायित्व हो, यसमा कतै समस्या आएमा समाधान गर्न सधैँ तयार छौं।’ उनले विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रको सहभागिता गराउनु आवश्यकता नभई अपरिहार्यता भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्। आइतबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा घोषणा गरेका हुन्। विश्वासको मत पेस गर्ने क्रममा उनले राजीनामा दिएको घोषणा गरेका हुन्। सरकार आफूसँगै रहेका दलहरूले छाडेर गएपछि मुख्यमन्त्रीको कुर्सीमा बस्न उपयुक्त लागेर मार्ग प्रशस्त गर्ने निर्णय लिएको उनले बताए। उनले विभिन्न आन्दोलन तथा शान्ति प्रक्रिया हुँदै सँगै ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिस्ट पार्टीहरूबीच एकता गरिए पनि त्यो सफल हुन नसकेको भन्दै फेरि नेताहरूको तहमा हुने एकताको पछि लाग्नुभन्दा कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउनुपर्ने ...
: नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले मधेश प्रदेशमा घटेका दुई साम्प्रदायिक घटनामा सरकारले पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै शाहले २०८२ चैत्र ७ गते कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. २ बरगदामा भएको घटना र हालै सुनसरीमा भएको घटनामा सरकारले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका हुन् । दुवै घटनाको ...
: हरेक महिना गृहजिल्ला गोरखा आउने कार्यक्रम बनाएका गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखा-१ का विभिन्न ठाउँमा पुगी मतदातासँग भेटघाट गरेका छन्। शुक्रबार मन्त्रालयको काम सकेर साँझ अबेर आरुघाट आइपुगेका मन्त्री गुरुङ शनिबारदेखि मतदाता भेटघाट कार्यक्रममा सरिक भएका हुन्। शनिबार भीमसेनथापा गाउँपालिकाका विभिन्न गाउँबस्तीमा पुगी मतदाता भेटघाट गरेका उनीसँगै हिँडेका रास्वपाका जिल्ला नेता ध्रुव अधिकारीले ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूविरुद्ध पछिल्लो तीन दिनमा धेरै निन्दा भएको बताएका छन्। कांग्रेसको संस्थापन इतर भेलालाई लक्षित गर्दै उनले आफूवरुद्ध धेरै निन्दा गरिएको बताए।। ‘बीपी र विद्रोहका ती दिन’ को औपचारिक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘धर्तीमा जन्मिएदेखि आजसम्म जानेर वा नजानेर जति मेरो निन्दा भएको थियो, त्योभन्दा धेरै यो तीन दिनमा ...