: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पेन्टागनलाई दक्षिण कोरियासँग सुरु हुन लागेको १० दिने संयुक्त सैन्य अभ्यास घटाउन निर्देशन दिएका छन्। उनले सैन्य अभ्यासको उच्च खर्च र इरानविरुद्धको अमेरिकी कदममा सोल (दक्षिण कोरिया) ले सहभागी हुन अस्वीकार गरेको विषयलाई यसको मुख्य कारण बताएका छन्।
सैन्य अभ्यास सुरु हुनुभन्दा केही घण्टा अघि आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा लेख्दै ट्रम्पले अभ्यास पूर्ण रूपमा रद्द गर्न ढिला भइसकेको भए पनि यसअघि अमेरिका सहभागी हुन सहमत भएकोमा आफू 'खुसी नरहेको' उल्लेख गरेका छन्। साथै उनले उत्तर कोरियाली नेता किम जोङसँग आफ्नो अत्यन्तै राम्रो सम्बन्ध रहेको दाबी गरे।
'यी सैन्य अभ्यासहरू खर्चिला मात्र छैनन्... तिनले एउटा यस्तो देशलाई पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण सन्देश दिन्छन्, जुन देश डोनाल्ड जे. ट्रम्प राष्ट्रपति रहेसम्म खतरामुक्त र सम्मानजनक रहँदै आएको छ,' ट्रम्पले लेखेका छन्।
वार्षिक 'उल्छी फ्रिडम सिल्ड' (Ulchi Freedom Shield) संयुक्त सैन्य अभ्यास अगस्ट १७ देखि २७ सम्म सञ्चालन हुने तालिका छ, जसमा करिब १८,००० दक्षिण कोरियाली सैनिकहरू सहभागी हुँदैछन्। उत्तर कोरियाको बढ्दो सैन्य क्षमतासँग जुध्नका लागि ड्रोन नियन्त्रण, जिपीएस (GPS) सिग्नल अवरोध र साइबर आक्रमणविरुद्धका अभ्यासहरू यसमा समावेश गरिएको अधिकारीहरूले जनाएका छन्।
दक्षिण कोरियाको 'जोइन्ट चिफ अफ स्टाफ' ले अभ्यास पूर्वतालिकानुसार सोमबार सुरु भएको बताए पनि ट्रम्पको टिप्पणीबारे बोल्न अस्वीकार गर्यो। सोलस्थित राष्ट्रपतीय कार्यालय, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले पनि यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
पेन्टागनका प्रवक्ताले यसबारे थप प्रश्नहरू ह्वाइट हाउसतिर पन्छाएका छन् भने
पेन्टागनका प्रवक्ताले यस विषयमा थप जानकारीका लागि ह्वाइट हाउसलाई साेध्नुपर्ने बताएका छन् भने ह्वाइट हाउसले पनि आगामी कदमबारे तत्काल कुनै आधिकारिक जानकारी खुलाएको छैन।
ट्रम्पले आफ्नो पहिलो कार्यकालदेखि नै दक्षिण कोरियासँगको सैन्य अभ्यासलाई 'उत्तेजक' र खर्चिलो भन्दै अन्त्य गर्ने वा घटाउने प्रयास गर्दै आएका छन्। दक्षिण कोरियामा तैनाथ २८,५०० अमेरिकी सैनिकको खर्च बाँडफाँडको विषयमा पनि उनको सोलसँग मतभेद रहँदै आएको छ।
उत्तर कोरियाले भने अमेरिका-दक्षिण कोरिया संयुक्त अभ्यासलाई आफूविरुद्धको आक्रमणको तयारी भन्दै निरन्तर आलोचना गर्दै आएको छ। उत्तर कोरियाले गत बुधबार मात्र आफ्नो पूर्वी तटबाट जापान सागरतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।
अमेरिकी थिंक ट्याङ्क स्टिमसन सेन्टरकी जेनी टाउनका अनुसार ट्रम्पले उत्तर कोरियासँग पुनः कूटनीतिक सम्बन्ध सुधार गर्ने प्रयास स्वरूप यो निर्णय लिएको हुन सक्छ। ट्रम्प र किमबीचको सम्बन्ध लामो समयदेखि उतारचढावपूर्ण रहँदै आएको छ। ट्रम्पले कुनै समय उत्तर कोरियाली नेतालाई 'लिटिल रकेट म्यान' भन्दै व्यङ्ग्य गरेका थिए भने किमले ट्रम्पलाई 'विक्षिप्त अमेरिकी वृद्ध' भनेका थिए। यद्यपि, पछि उनीहरूबीच तीन पटक शिखर वार्ता भएको थियो।
ट्रम्पले उत्तर कोरियाको प्रशंसा गर्दै इरानसँगको द्वन्द्वमा दक्षिण कोरियाको अडानप्रति पनि असन्तुष्टि जनाएका छन्। उनले दक्षिण कोरियाली राष्ट्रपतिसँग इरानको निशस्त्रीकरणमा साथ मागेको तर दक्षिण कोरियाले अस्वीकार गरेको दाबी गरे। 'उल्छी फ्रिडम सिल्ड' अभ्यास कसरी घटाइन्छ भन्ने स्पष्ट नभए पनि हालैका वर्षहरूमा यी अभ्यासहरू प्रत्यक्ष सैन्य भिडन्तभन्दा कम्प्युटर-सिमुलेटेड अभ्यासमा केन्द्रित हुँदै आएका छन्।
अमेरिकी सैन्य अधिकारीहरूका अनुसार युक्रेन युद्धमा रुसको तर्फबाट लडेका उत्तर कोरियाली सैनिकहरूले आधुनिक युद्धकला र ड्रोन प्रविधिको अनुभव हासिल गरिसकेका छन्। अमेरिकी नर्दर्न कमान्डका उच्च अधिकारी लेफ्टिनेन्ट जनरल जोसेफ जेरार्डले उत्तर कोरियाले उत्तर अमेरिकासम्म आणविक हतियार पुर्याउन सक्ने क्षमताको अन्तरमहाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरिसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।