: वीरगन्ज–१०स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बिहीबार परीक्षामा एक परीक्षार्थीले मोबाइल प्रयोग गरेर चिट चोरेको विषयलाई लिएर विद्यार्थी नेताका दुई समूहबीच विवाद भई कुटाकुटसमेत भएको छ।
बिहीबार क्याम्पसमा एमएमको फस्ट सेमेष्टरको परीक्षा चलिरहेका बेला परीक्षाहल भित्रै एक परीक्षार्थीले मोबाइल फोनको प्रयोग गरेर उत्तर पुस्तिकामा उत्तर लेखिरिहेको भेटिएपछि त्यसै विषयलाई लिएर विद्यार्थी नेताहरूको दुई समूहबीच विवाद भई कुटाकुट भएको हो। त्यस क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो। परीक्षा दिइरहेका बेला स्ववियु सदस्यसमेत रहेका आयुष यादव र स्ववियु सभापति राजकुमार यादव पक्षबीच विवाद भई कुटाकुट हुँदा दुईजना घाइते भएका छन्।
क्याम्पसका एक कर्मचारीका अनुसार बिहीबारको परीक्षामा परीक्षार्थीसमेत रहेका स्ववियु सदस्य यादव क्याम्पसले गरेको सिट प्लानिङ अनुसारको परीक्षा कोठामा नबसी अर्कै कोठामा बसेका थिए। त्यसपछि परीक्षामा खटिएका निरीक्षकले सिट प्लानिङ गरिएको कोठामै जान स्ववियु सदस्य यादवलाई आग्रह गर्दा उनले विवाद गरेका थिए। त्यही बेला परीक्षा अनुगमनका क्रममा पुगेका स्ववियु सभापति यादवले परीक्षाको मर्यादा पालना गर्न आग्रह गर्दा समेत उनीसँग स्ववियु सदस्य यादवले विवाद गरेका थिए। परीक्षा हलभित्रै उनको साथबाट मोबाइलसमेत भेटिएपछि विवाद झन् बढेको थियो।
त्यसपछि पुगेका क्याम्पस प्रमुख डा. केशव यादवले स्ववियु सदस्य यादवको साथमा रहेको मोबाइल जफत गरेपछि आक्रोशित यादवले फोन गरेर बाहिरबाट आफ्ना मानिसहरुलाई क्याम्पसमा बोलाएका थिए। त्यसपछि स्ववियु सदस्य यादव र स्ववियु सभापति यादव पक्षबीच क्याम्पस परिसरभित्रै हानहान हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसमेत गरेको थियो।
दुई समुहबीच भएको कुटाकुटमा दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा वीरगन्ज महानगरपालिका-२४ का अन्दाजी २३ वर्षीय सुनिल यादव र वडा नम्बर १० का अन्दाजी २५ वर्षीय राजु श्रीवास्तव रहेका छन्। घाइते दुवैजना क्याम्पसकै विद्यार्थी रहेको र उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कुटाकुटमा संलग्न स्ववियु सदस्य यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यादवलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
परीक्षा चलिरहेका बेला क्याम्पसले तोकेको भन्दा अर्को कोठामा परीक्षा दिन बसेका स्ववियु सदस्य यादव र परीक्षा अनुगमनका क्रममा पुगेका स्ववियु सदस्य यादव पक्षबीच कुटाकुट भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए।
यता स्ववियु सभापति यादवले भने परीक्षामा स्ववियु सदस्य आयुष यादवले अर्कै कोठामा बसेर मोबाइलबाट चिट चोरेर उत्तर लेखिरहेको भेटिएपछि आफूले त्यसको विरोध गरेपछि उनले फोन गरेर बाहिरबाट मान्छेहरू बोलाएर आफूमाथि आक्रमण गरेको आरोप लगाए।
परीक्षार्थी यादवले टेलिफोन गरेर बाहिरबाट बोलाएको अराजक समूहले क्याम्पसमा प्रवेश गरी होहल्ला गर्दै परीक्षा नै बिथोल्ने प्रयास गरेको स्ववियु सभापति यादवले बताए। स्ववियु सदस्य यादव समूहको आक्रमणबाट आफू पक्षका दुई जना विद्यार्थीहरू घाइते भएको पनि उनले बताए। उक्त घटनाको खबर पाएर क्याम्पसमा पुगेको प्रहरी टोलीले समेत स्थिति नियन्त्रणमा लिनुको सट्टा सत्यतथ्य नबुझी अन्धाधुन्ध लाठीचार्ज गरेको आरोप पनि स्ववियु सभापति यादवको छ।
‘परीक्षा जस्तो अत्यन्तै संवेदनशील र मर्यादित विषयमा खुलेआम धाँधली भइरहँदा टुलुटुलु हेरेर बस्न सकिएन। विरोध गर्दा बाहिरका मान्छे बोलाएर आक्रमण गरियो, अनि प्रहरीले उल्टै हामीमाथि लाठी बर्सायो,’ स्ववियु सभापति यादवले भने।