: भक्तपुमा अँगालो हालेर हिंडेका साथीकै ज्यान लिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भनपा–३ का २८ वर्षीय किशोर चौगुठी रहेका छन् । उनले भक्तपुर नगरपालिका–४ गहिटीका २६ वर्षीय मनिष सिंख्वालको ज्यान लिएको आरोप लागेको छ ।
प्रहरी स्रोतका अनुसार भक्तपुर–४ स्थित तारा स्कुल र जनसेवा स्कुलबीचको गल्लीमा अँगालो हालेर हिंडिरहेका बेला गए राति करिब सबा ८ बजे चौगुठीले इँट्टा प्रहार गरी मनिषलाई गम्भीर घाइते बनाएका थिए । घाइते मनिषलाई भक्तपुर अस्पताल पुर्याइएको थियो । तर, उपचारकै क्रममा करिब पौने ९ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । घटनापछि फरार रहेका चौगुठीलाई गए राति २ बजे पक्राउ गरी जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको परिसरका सूचना अधिकारी दीपककुमार कार्कीले बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा तँ भनेको विषयमा झगडा हुँदा ज्यान गएको बुझिएको छ । ’मृतक मनिषले तँ भनेको र हेपेको झोंकमा झगडा परेको र चौगुठीले इँट्टा प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ’, प्रहरी स्रोतले भन्यो ।
स्रोतका अनुसार चार जना साथीभाइ भट्टीमा बसेर मादक पदार्थ सेवन गरेका थिए । छुट्टिने बेला मनिष र चौगुठी अँगालो हालेर सँगै निस्किएका थिए । उनीहरू नजिकको साथी नभई साथीमार्फत भट्टीमा चिनजान भएका साथी भन्ने बुझिएको स्राोतले जानकारी दिएको छ ।