: नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको आन्तरिक विवाद सतहमै पोखिएको छ। दलका नेता जगन्नाथ थपलियालाई पदबाट हटाउन माग गर्दै १६ जना सांसदको लिखित हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ।
बुधबार हेटौंडास्थित प्रदेशसभा सचिवालय र एमाले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराइएको हो। केही दिनदेखि अस्वस्थ भई अस्पताल भर्ना भएका दल नेता थपलिया मंगलबारमात्रै डिस्चार्ज भएका थिए।
उनी अस्वस्थ रहँदा अविश्वास प्रस्ताव अघि नबढाउने बताएको पूर्वमन्त्री किरण थापामगर पक्षले थपलिया बुधबार साँझ चितवन फर्कने तयारीमा रहेकै बेला अचानक प्रस्ताव दर्ता गराएको हो। संसदीय दलको विधानअनुसार यस्तो प्रस्ताव उपनेताले दर्ता गर्ने प्रावधान रहे पनि उपनेता पद खाली रहेकाले कार्यालय सहयोगी सुशीला खतिवडामार्फत प्रस्ताव दर्ता गरिएको छ।
बागमती प्रदेशसभामा एमालेका २७ सांसद रहेकोमा १६ जनाले लिखित हस्ताक्षर गरेका छन्। थापाको पक्षमा उभिने सांसदहरूमा आनन्दकुमार श्रेष्ठ, कृष्णप्रसाद सिलवाल, जयराम थापा, डा. दिनेशचन्द्र देवकोटा, प्रेमभक्त महर्जन, विन्दु श्रेष्ठ, भरतबहादुर केसी, भारतीकुमारी पाठक, माइली तामाङ, मायाकुमारी कार्की, रघुनाथ महर्जन, रामेश्वर श्रेष्ठ, शकुन्तला श्रेष्ठ, हरिप्रसाद सापकोटा र ज्ञानबहादुर तामाङ रहेका छन्।