। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेलतालिका परिमार्जन भएको छ । यसअघि नेपालको खेल १ सेप्टेम्बरका लागि तय भएकोमा अब ३१ अगस्टमा हुनेछ ।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३१ अगस्टमा बहराइनसँग खेल्नेछ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्।
नेपालले त्यसपछि ३ सेप्टेम्बरमा आयोजक मलेसिया, ६ सेप्टेम्बरमा साउदी अरेबिया र ८ सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका खेलपछि तेस्रो स्थानको खेल र फाइनल आयोजना हुनेछ।
ओडीआई फर्म्याटमा हुने प्रिमियर कपको विजेता टोलीले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउने छ ।
प्रतियोगिताका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ।
नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इसान पाण्डे, गुल्सनकुमार झा, शेर मल्ल, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।