मुख्य समाचार
लगातारको खराब प्रदर्शनका कारण नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मान्यता संकटमा
लगातारको खराब प्रदर्शनका कारण नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मान्यता संकटमा

। लगातारको खराब प्रदर्शनका कारण नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मान्यता संकटमा छ । अबका केही खेलमा सम्हालिन नसक्ने हो भने नेपालले ८ वर्षअघि हासिल गरेको ओडीआई मान्यता गुमाउने छ ।

यही संकटग्रस्त परिस्थितिमा नेपाली क्रिकेट सम्हाल्ने जिम्मेवारी सन्दीप लामिछानेको काँधमा आइपुगेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई हटाएर सन्दीपलाई ओडीआई कप्तानको जिम्मेवारी प्रदान गरेको हो । लेग स्पिनर सन्दीपले अगस्ट ३० देखि मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्ने छन् ।
सन्दीप ४ वर्षपछि पुन: कप्तानको जिम्मेवारीमा फर्किएका हुन् । उनले २०७८ मै राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए । तर बलात्कार मुद्दाले एक वर्ष नहुँदै उनको कप्तानी खोसिदिएको थियो । ४ वर्षपछि क्यानले सन्दीपलाई पुन: राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर प्रदान गरेको हो ।

आईसीसी विश्वकप लिग–२ साइकल अन्तर्गतको अन्तिम सिरिज पनि नेपालले सन्दीपकै कप्तानीमा खेल्नेछ । लगातार पराजित हुँदा ८ टोली सहभागी लिग–२ साइकलमा नेपाल सातौं स्थानमा छ ।


यो सिरिजमा नेपालले ३२ मध्ये ११ खेलमा मात्र जित निकालेको छ । नेदरल्यान्ड्समा भएको पछिल्लो सिरिजमा नेपालले चार वटै खेल गुमाएको थियो । विदेशी भूमिमा भएको पछिल्ला ८ खेलमा नेपालले जित निकाल्न सकेको छैन ।

शीर्ष चारमा रहँदै सिधै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना त करिब सकिएको छ नै, ओडीआई मान्यतासमेत गुमाउने हो कि भन्ने प्रश्न पनि खडा भएको छ । लिग–२ साइकलमा नेपालले अब मात्र एक सिरिजका चार खेल खेल्न बाँकी छ । उक्त सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई मान्यता जोगाउने चुनौती सन्दीपमाथि रहने छ ।



नेपालले लिग–२, २०१९–२०२३ साइकलका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकालेर शीर्ष चारमा रहँदै सिधै विश्वकप छनोटमा स्थान बनाएको थियो । तर यस पटक बाँकी चार खेल जित्दा पनि शीर्ष चारमा पर्ने सम्भावना न्यून छ । त्यस कारण नेपाली टोलीले शीर्ष चारमा पर्नेभन्दा पनि ओडीआई मान्यता जोगाउनेतर्फ ध्यान केन्द्रित गर्नेछ ।

कप्तानमा दोस्रो इनिङ्स

सन्दीपले २१ वर्षकै उमेरमा राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । २९ मंसिर २०७८ मा क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिएको थियो । तर त्यसको एक वर्ष बित्न नपाउँदै उनको कप्तानी खोसिन पुग्यो ।

सन्दीपको कप्तानीमा नेपालले १४ ओडीआई खेल्यो । जसमा ४ खेलमा जित, ९ खेलमा हार र एक खेल बराबरी खेल्यो ।

२१ भदौ २०७९ मा एक युवतीले बलात्कार उजुरी दिएपछि सन्दीपलाई क्यानले कप्तानसँगै राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो । २७ पुस २०७९ मा उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएसँगै क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्‍यो । तर १३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएसँगै उनी पुन: निलम्बनमा परे । २ जेठ २०८१ मा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै सन्दीपको क्रिकेट यात्रा पुन: सुरु भएको हो ।

विश्व क्रिकेटको अनुभव

दोस्रो पटक कप्तानको जिम्मेवारी पाएका सन्दीपसँग इन्डियन प्रिमियर लिग (आईपीएल)सँगै विश्वका अधिकांश प्रेन्चाइज लिग खेलेको अनुभव छ । उनी आईपीएल खेल्ने पहिलो तथा एक मात्र नेपाली खेलाडी हुन् ।

सन्दीपले सन् २०१८ मा पहिलो पटक दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए । सन्दीपसँग आईपीएलसँगै विश्वका लगभग सबै प्रेन्चाइज लिग खेलिसकेको अनुभव छ । बीबीएल, सीपीएल, बीपीएल, पीएसएल, ग्लोबल टी २० क्यानडा, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् ।

सन्दीप नेपालबाट ओडीआई र टी २० आई दुवैमा १०० विकेट लिने पहिलो बलर हुन् । उनको नाममा ओडिआईमा सबैभन्दा छिटो १०० र १५० विकेट लिने विश्व कीर्तिमान पनि छ । उनले ४२ खेलमा १०० विकेट र ७३ खेलमा १५० विकेट लिँदै कीर्तिमान आफ्नो नाममा बनाएका थिए ।

सर्वाधिक (३) ओडीआई खेलमा ४ विकेट लिने विश्व कीर्तिमानमा पनि सन्दीपले संयुक्त रूपमा आफ्नो नाम लेखाएका छन् । नेपालको बलिङ आक्रमणका महत्वपूर्ण सदस्य सन्दीपले ७७ खेलमा १५४ विकेट लिएका छन् ।

पछिल्ला खेलमा नेपालले लगातार हार बेहोर्दा सन्दीपको बलिङ पनि चल्न सकेको थिएन । नेदरल्यान्ड्समा भएको पछिल्लो सिरिजका चारमध्ये सुरुवाती ३ खेलमा उनी विकेटविहीन हुन पुगे । चौथो खेलमा उनलाई बेन्चमा राखियो । पछिल्ला १० ओडीआई खेलमा सन्दीपले १७ विकेट लिएका छन् । घरेलु मैदानमा भएका पछिल्ला ८ खेलमा १५ विकेट लिए ।

चितवनदेखि सुरु भएको यात्रा

सन्दीप स्याङ्जामा जन्मिए । बुबा भारतीय रेल्वेमा काम गर्ने हुनाले उनले कक्षा चारसम्म भारतमै पढे । क्रिकेट पनि उतै सिकेर फर्किए । चितवन पढ्न आएका सन्दीपले सुरुवातमा आफू पढ्ने स्कुलबाट विभिन्न प्रतियोगिता खेले । त्यसपछि चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन थाले । जहाँ नेपाली क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्का उनका प्रशिक्षक थिए ।

बलिङतर्फ स्पिनमा उनको विशेष दखल थियो । टेलिभजनमा अस्ट्रेलियन स्टार सेन वार्नको बलिङ हेर्थे र मैदानमा त्यसकै सिको गर्थे । एकेडेमीमा प्रशिक्षण गर्ने क्रममा सन्दीपमाथि नेपाली राष्ट्रिय टिमका तत्कालीन प्रशिक्षक पुबुदु दसानायेकेको आँखा पर्‍यो । दसानायेकेले सन्दीपलाई तत्कालै यू–१९ को क्याम्पमा बोलाए ।

सन् २०१५ को अक्टोबरमा मलेसियामा भएको आईसीसी यू–१९ ग्लोबल क्वालिफायरका १४ वर्षीय किशोरले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । तर त्यसको केही समयमा बंगलादेशमा भएको यू–१९ विश्वकप क्रिकेटमा स्थान बनाउन सफल भए । उनले त्यो विश्वकप मात्र खेलेनन्, दोस्रो खेलमा आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएर सनसनी मच्चाए ।

३१ मे २०१८ मा आईसीसी वर्ल्ड–११ बाट वेस्ट इन्डिजविरुद्ध खेल्दै टी–२० आईमा डेब्यु गरे । त्यसको दुई महिनापछि नेदरल्यान्डविरुद्ध खेल्दै ओडीआई क्रिकेटमा पनि सन्दीपले डेब्यु गरे । त्यसपछि उनले पछाडि फर्किनु परेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेलतालिका परिमार्जन भएको छ । यसअघि नेपालको खेल १ सेप्टेम्बरका लागि तय भएकोमा अब ३१ अगस्टमा हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३१ अगस्टमा बहराइनसँग खेल्नेछ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा यूएई, ओमान, ...
। पोर्चुगलका फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी पार्टनर तथा मोडल-इन्फ्लुएन्सर जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। उनीहरूले पोर्चुगलमै स्थानीय विधिअनुसार विवाह गरेका हुन्। रोनाल्डोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहको औंठी लगाएको हात देखिने तस्वीर सार्वजनिक गरेका छन्। तस्वीर सार्वजनिक भएको ६ घण्टामै त्यसमा एक करोड ६८ लाखभन्दा बढी लाइक आएको बताइएको छ। पोर्चुगिज सञ्चारमाध्यमका अनुसार रोनाल्डो र जर्जिनाले ...
। इंग्लिस क्लब लिभरपुलले बार्सिलोनाका उरुग्वेली डिफेन्डर रोनाल्ड अराउहोलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको छ । २७ वर्षीय अराउहोलाई लिभरपुलले सिजनभरका लागि ल्याएको हो। सम्झौतामा स्थायी रूपमा अनुबन्ध गर्न सक्ने विकल्पसमेत राखिएको छ । बार्सिलोनाबाट २०० भन्दा बढी खेल खेलिसकेका अराउहोले क्लबका लागि तीन ला लिगा र दुई कोपा डेल रे उपाधि जितेका छन् । उनी ...
: गण्डकी प्रदेश खेलकुद परिषद्(गखेप)ले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन गरिएको छ। गत असार ३० गते वितरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले ३ सदस्यीय छानबिन समिति गठन गरेकी हुन्। खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो। समितिलाई साउन ...
: अष्ट्रेलियामा हुने टप एन्ड टी-२० शृंखला खेल्न अनिलकुमार साहको कप्तानीमा 'टिम ए' घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ति जारी गर्दै २१ अगस्टदेखि ३० अगस्टसम्म अस्ट्रेलियाको नर्दन टेरिटोरीमा हुने यस श्रृङ्खलाको लागि टोली घोषणा गरेको हो। सोमबार अनिलकुमार शाहको कप्तानीमा क्यानले १५ सदस्य टोली घोषणा गरेको हो। यस श्रृङ्खलामा नेपालले लिग चरणमा ६ ...