। डा. धवलशमशेर राणाको नेतृत्वमा गठित जय नेपाल पार्टीको निर्वाचन आयोगमा दर्ता गर्ने समय पर सारिएको छ ।
साउन २८ गते निर्वाचन आयोगमा दर्ता गर्ने गरी यसअघि निर्णय गरिएको थियो । आगामी विहीबारका लागि तय भएको पार्टी दर्ताको कार्यतालिका पर सरेको उक्त पार्टीका सर्वोच्च नेता दुर्गा प्रसाईले सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । ‘नयाँ पार्टी गठन तथा दर्ताका लागि गर्नुपर्ने सम्पूर्ण तयारीहरू हामीले अझै पूरा गरिसकेका छैनौँ । अहिले पनि पार्टी गठन, संगठनात्मक संरचना तथा अन्य आवश्यक विषयमा आन्तरिक छलफल र तयारी भइरहेको छ,’ प्रसाईले भने ।
जय नेपाल पार्टी गठनमा सक्रिय एक नेताका अनुसार सभापति राणा र सर्वोच्च नेता प्रसाईं वीचमा शक्ति बाँडफाँटमा कुरा मिल्न नसक्दा निर्वाचन आयोगमा दर्ताको समय पर सारिएको हो । ती नेताका अनुसार निर्वाचनका उम्मेदवारको टिकटमा हस्ताक्षर आफूले गर्न पाउनुपर्छ भनेको हुँदा सहमति जुट्न सकेको छैन । विधान मस्यौदा समितिका संयोजक एवं प्रसाई निकट माधव कल्पितले दुबै जनाले टिकटमा हस्ताक्षर गर्ने जानकारी दिए । कल्पितले अनलाइनखबरसँग भने,‘त्यो ठूलो कुरा होइन । प्राविधिक कुरा हो । सभापति र सर्वोच्च नेताले हस्ताक्षर गर्नुहुन्छ ।’
कल्पितका अनुसार दल दर्ताका लागि साइत हेर्दा साउन २८ गते उपयुक्त नहुँदा सार्नुपरेको हो । दल दर्ताका लागि समय सार्नुको थप कारणमा निर्वाचन आयोगमा बुझाउने केन्द्रीय सदस्यको सूचीमा रहेका व्यक्तिहरु बाहिर रहेको हुँदा उनीहरुको प्रतिक्षा गर्नका लागि समयावधि थपिएको हो । ‘साइत हेर्दा २८ गते राम्रो दिन देखिएन । निर्वाचन आयोग जाँदा ५/७ मान्छेहरु सहित जाऔं भन्ने पनि हो,’ कल्पितले भने,‘केन्द्रीय सदस्यमा रहने साथीहरु काठमाडौमा आउन समय पनि लाग्छ । भदौको पहिलो सातामा दल दर्ता गरिसक्छौं ।
नेता कल्पित संयोजक रहेको विधान मस्यौदा समितिले ३१९ जना केन्द्रीय सदस्य हुने व्यवस्था गरेको छ । निर्वाचन आयोगमा दल दर्ता गर्ने समयमा १०१ केन्द्रीय सदस्यको सूची पेश गरिने भएको छ । सभापति, सर्वोच्च नेता, बढीमा दुई जना वरिष्ठ नेता, सात प्रदेश र केन्द्र गरेर ८ उपसभापति, एक महिला सहित तीन महामन्त्री हुने गरी विधानको व्यवस्था गरिएको कल्पितले जानकारी गराए । पदाधिकारीको संख्या ३१ जना हुनेछन् ।
केन्द्रीय कमिटीमा रहने व्यक्तिहरुलाई फरक फरक पक्षलाई प्रतिशतका आधारमा छुट्याइएको छ । सभापति राणा पक्ष र सर्वोच्च नेता प्रसाईबाट ४०/४० प्रतिशत र अन्य पक्षबाट भित्रनेहरुका लागि २० प्रतिशत हुने सबै पक्षल समेटिने कल्पितले जानकारी गराए ।