मुख्य समाचार
धनकुटामा १० जातको कोदो रोपेर उत्पादन, अनुकूलता र सम्भावनाको अध्ययन सुरु
धनकुटामा १० जातको कोदो रोपेर उत्पादन, अनुकूलता र सम्भावनाको अध्ययन सुरु

। धनकुटामा १० जातको कोदो रोपेर उत्पादन, अनुकूलता र सम्भावनाको अध्ययन सुरु गरिएको छ । धनकुटा नगरपालिका वडा नं. ८ खाम्बेलाको बारीमा १० जातका कोदो रोपेर परीक्षण सुरु गरिएको हो ।

एउटै बारीमा फरकफरक जातका कोदो रोपेर वैज्ञानिक अनुसन्धान सुरु गरिएको हो । झट्ट हेर्दा हेर्दा सामान्य कोदो खेतीजस्तै देखिए पनि साना–साना प्लटभित्र कोदो रोपेर अनुसन्धान सुरु गरिएको हो । कुन जातको कोदो यहाँको माटो र हावापानीमा राम्रो हुन्छ ? कुन जातले बढी उत्पादन दिन्छ ? किसानले कुन जात रोज्दा बढी लाभ लिन सक्छन् ? भन्ने बारेमा जानकारी लिन खाम्बेलामा कोदोका १० जातको जातीय परीक्षण सुरु गरिएको हो ।

स्थानीय समुदायदेखि कृषि अनुसन्धानसँग सम्बन्धित विभिन्न निकायको सहकार्यमा अनुसन्धान सुरु गरिएको हो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) आयोजना तथा धनकुटा नगरपालिका, कृषि ज्ञान केन्द्र धनकुटा तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिबास, धनकुटाको सहकार्यमा अनुसन्धान सुरु गरिएको हो ।

नेपालको पहाडी क्षेत्रमा परम्परादेखि खेती हुँदै आएको महत्वपूर्ण रैथाने बाली कोदो हो । तर, पछिल्लो समय उत्पादन प्रणालीमा आएको परिवर्तन, श्रमको अभाव, बजारको सीमितता र किसानको अन्य बालीप्रतिको आकर्षणका कारण धेरैजसो स्थानमा कोदो खेतीको क्रम निरन्तर घट्दै गएको पाइन्छ । त्यसैले कोदोका सम्भावित उन्नत जात पहिचान गरी किसानसम्म पुर्‍याउने उदेश्य अनुसन्धान सुरु गरिएको नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक तथा कोदो विज्ञ डा. कृष्णहरि घिमिरेले बताए ।


खाम्बेलामा सञ्चालन गरिएको कार्यमुखी अनुसन्धानमा कोदोका विभिन्न १० वटा जात समावेश गरिएको छ । जसमा उन्नत जातका, परीक्षणका क्रममा रहेका जात तथा स्थानीय जातलाई अनुसन्धान मार्फत तुलनात्मक अध्ययन गर्न थालिएको छ । अनुसन्धानमा ओख्ले, डल्ले, काभ्रे–१, काभ्रे–२ र सैलुङ गरी पाँच वटा उन्नत जात रहेका छन् भने परिक्षणका क्रममा रहेका केएलइ १५८, केएलइ १५९ र केएलइ २३६ नामक तीन वटा जात अनुसन्धानमा राखिएका छन् । यस्तै धनकुटामा स्थानीय रुपमा प्रचलनमा रहेका लुली र मुड्की गरी दुई स्थानीय जात पनि अनुसन्धानमा समावेश गरिएको छ ।

वैज्ञानिक विधिअनुसार तीन फरक लाइनमा ३० वटा साना क्षेत्र बनाएर कोदो रोपिएको छ । प्रत्येक जातको वृद्धि, विकास र उत्पादनसम्बन्धी विशेषता अध्ययन गर्दै स्थानीय परिस्थितिमा कुन जात बढी उपयुक्त देखिन्छ भन्ने मूल्यांकन गरिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का कमल अर्यालले जानकारी दिए ।

किसान आफैं अनुसन्धानकर्ता



कोदो बालीको यो अनुसन्धानमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको किसानको सहभागितालाई लिइएको छ । सामान्यतया प्रयोगशाला वा अनुसन्धान केन्द्रमा हुने परीक्षणको नतिजा किसानसम्म पुग्न समय लाग्ने गरेको छ । तर, खाम्बेलाको अनुसन्धानमा किसानले आफ्नै खेतमा विभिन्न जातलाई हुर्किएको देख्ने, तुलना गर्ने र त्यसका विशेषता बुझ्ने अवसर पाउने भएका छन् ।

कुन जातको बोट अग्लो हुन्छ, कुनमा राम्रो बालि लाग्छ, कुन जात स्थानीय वातावरणसँग सहज रुपमा अनुकूल हुन्छ र उत्पादनका दृष्टिले कुन जात बढी प्रभावकारी देखिन्छ भन्ने कुरा किसानले प्रत्यक्ष अवलोकन गर्न सक्ने भएका छन् । जसले अनुसन्धानको नतिजालाई कागजमा मात्र सीमित नराखी किसानको अनुभवसँग जोड्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको छ । जसले गर्दा स्थानीय परिवेशमा अनुकूल हुने बाली र जातको पहिचान गर्न समस्या हुँदै गएको छ । अनिश्चित वर्षा, तापक्रममा परिवर्तन, खडेरी तथा अन्य मौसमी जोखिमले परम्परागत कृषि प्रणालीमा चुनौती थपिरहेको अवस्थामा स्थानीय वातावरणमा राम्रोसँग उत्पादन दिन सक्ने जात पहिचान गर्नु आवश्यक बन्दै गएको छ । अनुसन्धान पछि आगामी दिनमा धनकुटामा कुन जात विस्तार गर्दा किसानलाई फाइदा हुन्छ भन्ने निष्कर्ष आउने बताइएको छ ।

बारीबाट बजारसम्मको योजना

कोदो उत्पादन बढाउनु मात्र उपयुक्त भने पक्कै होइन । किसानले उत्पादन गरेको कोदोको उचित मूल्य सहितको बजार भने अति आवश्यक रहेको हुन्छ । यसैलाई ध्यानमा राख्दै धनकुटा नगरपालिकाले अनुसन्धानबाट छनोट हुने उपयुक्त जातको प्रवर्द्धन र बजारीकरणमा सहयोग गर्ने जनाएको छ । नगरपालिकाले कोदो तथा अन्य रैथाने बालीको प्रशोधनमा सहयोग गर्नुका साथै बजारसँग सहजीकरण गर्ने योजना बनाएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय गोर्खा सैनिक (गोर्खा रेजिमेन्ट इन्डिया) मा नेपालीलाई पुन: भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरामा प्रदर्शन गरेको हो । प्रदर्शनमा नेपाली युवाहरूलाई भारतीय सेनामा पुन: भर्ती खुालाउनुपर्ने र भूतपूर्व सैनिक संघसंस्थाहरूको नवीकरण सुचारु गर्न माग गरिएको छ । पोखराका विभिन्न ठाउँमा भूतपूर्व भारतीय सैनिक ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ । झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न थालेको छ । बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन जारी गरेको छ । यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले १५ ...
। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । यो विषयमा बुधबार निर्वाचन आयोगको बैठक बसेको थियो । जसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न अलग अलग दुई वटा समिति नै गठन गरेको छ । कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न आयोगका आयुक्तज्यूहरूको सयोजकत्वमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए । ‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउनसक्छ । अहिले यो ...