मुख्य समाचार
पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव
पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव

। जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, खडेरी र डढेलोबीच पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव गरेको छ ।

युरोपेली सङ्घ (इयू) को विश्वव्यापी तापक्रम अनुगमन प्रणाली कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले यस क्षेत्रमा तापक्रमको कीर्तिमान देखाएको हो ।

कोपर्निकसका अनुसार जुन–जुलाईमा पश्चिमी युरोपको संयुक्त औसत तापक्रम २१.६२ डिग्री सेल्सियस पुगेको थियो । यो सन् २०२२ को सोही अवधिमा कायम भएको अघिल्लो रेकर्डभन्दा बढी हो । यस वर्षको गर्मीमा लगातार उच्च तापक्रम र लामो समयसम्म कायम रहेको गर्मीको अवस्थाले असामान्य तातोको सङ्केत गरेको कोपर्निकसले जनाएको छ ।

युरोप विश्वमै सबैभन्दा तीव्र गतिमा तापक्रम बढिरहेको महाद्वीप हो। यस वर्षको गर्मीको सुरुवाती दुई महिनामा लगातार तातो हावा, उच्च तापक्रम, अत्यधिक सुक्खापन र खडेरी देखिएको छ । जुलाईमा पश्चिमी तथा मध्य युरोपका फ्रान्स, स्पेन, अस्ट्रिया र हङ्गेरीसहित बेलायत, आयरल्यान्ड तथा आइसल्यान्डका केही क्षेत्रमा समेत असामान्य रूपमा सुक्खा अवस्था देखिएको थियो ।


सन् २०२२ को गम्भीर खडेरीसँग तुलना गर्दा यस वर्ष जुलाईमा माटोको आद्रता अझ कम पाइएको कोपर्निकसले जनाएको छ । युरोपियन सेन्टर फर मिडियम–रेन्ज वेदर फोरकास्टकी सामन्था बर्गेसले गर्मी र खडेरीले एकअर्कालाई थप तीव्र बनाइरहेको बताए। उनका अनुसार जलवायु परिवर्तनले चरम गर्मीलाई कसरी बढाइरहेको छ भन्ने पछिल्लो अवस्था त्यसको स्पष्ट उदाहरण हो ।

लामो समयको गर्मी र सुक्खापनका कारण युरोपका प्रमुख नदीमा समेत पानीको बहाव घटेको छ । सेन, राइन र डेन्युब नदीमा असामान्य रूपमा कम बहाव देखिएको छ । यसको असर जल यातायात, सिँचाइ तथा ऊर्जा उत्पादनमा परेको छ ।

तातो र सुक्खा मौसमले डढेलोको जोखिम पनि बढाएको छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनसँगै युरोपमा अत्यधिक डढेलो लाग्न अनुकूल मौसमको आवृत्ति बढिरहेको छ । फ्रान्स र स्पेनले यस गर्मीमा पछिल्ला दशककै गम्भीर डढेलोसँग जुधेका छन् । युरोपका अन्य मुलुकसँगै अमेरिकाको उत्तरपश्चिमी क्षेत्र र क्यानाडामा समेत गम्भीर आगलागीका घटना भएका छन् ।

समुद्रको तापक्रम पनि उच्च

कोपर्निकसका अनुसार जुलाईमा विश्वका महासागरको औसत सतह तापक्रम लगातार दोस्रो महिनासमेत रेकर्ड उच्च रह्यो । जुलाईमा विश्वव्यापी औसत समुद्री सतहको तापक्रम २०.९६ डिग्री सेल्सियस पुगेको थियो । जुन सन् २०२३ मा कायम भएको अघिल्लो रेकर्डभन्दा बढी हो ।

कोपर्निकसका निर्देशक कार्लो बुओन्टेम्पोले भूमध्यसागर र एटलान्टिक महासागरका केही भाग असामान्य रूपमा तातेको बताए। उनका अनुसार प्रशान्त महासागरमा विकसित भइरहेको शक्तिशाली ‘एल निनो’ विश्वव्यापी समुद्री तापक्रम बढ्नुको प्रमुख कारणमध्ये एक हुन सक्छ ।

जलवायु वैज्ञानिक बुओन्टेम्पोले अगस्ट ५ मा पत्रकारहरूसँग कुरा गर्दै अहिलेको एल निनो निकै शक्तिशाली रहेको र यसको आकारका दृष्टिले असाधारण हुन सक्ने बताएका थिए। उष्णकटिबन्धीय प्रशान्त महासागरबाट आउने तापक्रमको प्रभाव विश्वव्यापी मौसम प्रणालीमा महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

एल निनो प्राकृतिक जलवायु चक्रको न्यानो चरण हो । यस क्रममा उष्णकटिबन्धीय प्रशान्त महासागरको सतहको तापक्रम अस्थायी रूपमा बढ्छ र त्यसले विश्वका विभिन्न क्षेत्रमा खडेरी, बाढी तथा अन्य चरम मौसमलाई प्रभावित गर्न सक्छ । जीवाश्म इन्धनको प्रयोगबाट पहिले नै तातिरहेको पृथ्वीमा एल निनोले थप ताप थप्ने गर्छ ।

एल निनो सामान्यतः वर्षको अन्त्यतिर बलियो हुने र समुद्रमा सञ्चित तापक्रम वायुमण्डलमा प्रवेश गराउँदा विश्वव्यापी तापक्रम अझ बढ्ने गर्छ । पछिल्लो एल निनोले सन् २०२३ र २०२४ लाई क्रमशः दोस्रो र सबैभन्दा तातो वर्ष बनाउन योगदान गरेको थियो । वैज्ञानिकहरूले यस वर्षको अन्त्य वा सन् २०२७ को सुरुआतमा विश्वव्यापी औसत तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने अनुमान गरेका छन् ।

तापक्रम वृद्धिको मुख्य कारण हरितगृह ग्यास

विश्वव्यापी रूपमा गत जुलाई औसत सतह तापक्रम १.४७ डिग्री सेल्सियससहित संयुक्त रूपमा दोस्रो सबैभन्दा तातो जुलाई बनेको कोपर्निकसले जनाएको छ । यो तापक्रम सन् १८५०–१९०० को पूर्वऔद्योगिक औसतभन्दा १.४७ डिग्री सेल्सियस बढी हो ।

पछिल्ला ११ वर्ष रेकर्डमा सबैभन्दा तातो वर्षका रूपमा रहेका छन् । कोपर्निकसका निर्देशक बुओन्टेम्पोले मानव जीवनकालमा र सम्भवतः आधुनिक सभ्यताको इतिहासमै यस स्तरको न्यानो अवस्था नदेखिएको बताए। उनका अनुसार तापक्रम वृद्धिको मुख्य कारण हरितगृह ग्यासको बढ्दो मात्रा हो ।

मानव गतिविधिबाट उत्सर्जित कार्बनका कारण उत्पन्न अतिरिक्त तापको ठूलो हिस्सा महासागरले सोस्ने भएकाले पृथ्वीको जलवायु प्रणालीलाई सन्तुलित राख्न महासागरको महत्त्वपूर्ण भूमिका रहन्छ । तर समुद्रको तापक्रम अत्यधिक बढ्दा त्यसले ग्रहमा गम्भीर प्रभाव पार्न सक्छ । तातो समुद्रले शक्तिशाली आँधी र भारी वर्षालाई बढावा दिनुका साथै समुद्री पारिस्थितिक प्रणाली तथा कोरल रीफमा ‘ब्लिचिङ’को समस्या निम्त्याउन सक्छ ।

कोपर्निकसले भूमि र समुद्रमा रहेका अरबौँ उपग्रह तथा मौसमसम्बन्धी मापनबाट तथ्याङ्क सङ्कलन गरी जलवायु अवस्थाको विश्लेषण गर्दै आएको छ । यसको तथ्याङ्क सन् १९४० सम्मको अवधिसम्म फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । प्रहरीले मङ्गलबार दुर्घटनाबारे जानकारी दिँदै उद्धार तथा घटनास्थलको अनुसन्धान अघि बढिरहेको जनाएको छ । जोहानेसबर्गबाट करिब १०० किलोमिटर उत्तरपश्चिममा रहेको रुस्टनबर्ग सहरनजिकै दुर्घटना भएको हो । घटनास्थलमा अधिकारीहरू पुग्ने क्रम जारी रहेकाले मृतक ...
। सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। डिसेम्बर २०२४ मा आफ्नो शासन ढलेपछि असद परिवारसहित दमास्कसबाट भागेर मस्को पुगेका थिए। यससँगै उनको परिवारको पाँच दशक लामो सत्तामाथिको पकड अन्त्य भएको थियो। यसै मुद्दामा अदालतले असदका नातेदार तथा दक्षिणी सिरियाको दारा प्रान्तमा राजनीतिक सुरक्षाका पूर्व ...
। अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता विदेशी नागरिकका १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ। मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यपत्रअनुसार यो संख्या ट्रम्पले जनवरी २०२५ मा दोस्रो कार्यकाल सम्हालेयताको हो। भिसाका सर्त उल्लंघन, आपराधिक गतिविधिसँग जोडिएका घटना, अमेरिकी नागरिकविरुद्ध हिंसाको आह्वान, ठगी, अध्यागमन प्रणालीको दुरुपयोग र राष्ट्रिय सुरक्षामाथिको जोखिमलाई ...
। कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण थुप्रै भवन भत्किएका छन् । केही मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरेको छ । कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ ...
: इरानी भूमिमा अमेरिकी सेना प्रवेश गरे उनीहरूको खुट्टा काटिदिने भन्दै इरानी सेनाले अमेरिकालाई कडा चेतावनी दिएको छ। इरानी सेनाका स्थल सेना कमाण्डर ब्रिगेडियर जनरल अली जहाँशाहीले आइतबार कुनै पनि विदेशी सेनाले इरानको भूमिमा पाइला राखेमा तत्काल र कडा जबाफ दिइने बताएका छन्। उनले कुनै पनि अमेरिकी सैन्यकर्मी इरान छिरेमा उसलाई रोकिने स्पष्ट पारेका हुन्।‘शत्रुको कारबाहीको प्रभावकारी ...