: अविरल बर्षाका कारण उत्तरी गोरखा प्रवेश गर्ने मुख्यद्वार बेनिघाट आरुघाट लार्के सडक ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । केही दिनदेखिको बाढी तथा पहिरोले धार्चे गाउँपालिका–३ स्थित सो सडक विभिन्न ठाउँमा अवरोध भएको जगतका विशाल घलेले जानकारी दिए ।
‘तातोपानीदेखि जगतसम्मको सडक तीन ठाउँमा अवरोध छ’, उनले भने, ‘तातोपानीको झरना यति ठूलो छ कि, छाँगोले सडक पूरै ढाकेर वारपार गर्न नमिल्ने भएको छ’, सडकको अवस्था हेर्न जगतदेखि तातोपानीसम्म आएका उनले भने, ‘दोभान खोलामा पनि गाडी वारपार गर्न नसक्ने अबस्था छ ।’ अण्डाडाँडा, दोभानखोला र कालोभीरमा पनि बाटो थुनिएको उनको भनाइ छ ।
‘अण्डाडाँडामा ठूलो ढुंगा आएर बाटो थुनेको छ । त्यसलाई त ब्लास्ट नै गर्नुपर्नेछ’, उनले भने, ‘दोभान खोलामा पनि तर्नै नसक्ने ठूलो बाढी छ । कालोभीरमा पनि नेपाली सेनाले सडक आठ मिटर चौडा फराकिलो बनाउन लागेकाले बाटो अवरुद्ध छ ।’ ब्लास्टिङ गर्नुपर्ने भएकाले यी सबै अवरोध हटाउन कम्तिमा पनि तीन दिन लाग्न सक्ने उनको अनुमान छ । चुमनुब्री गाउँपालिका प्रवेश गर्ने मुख्यद्वारका रुपमा रहेको सो सडकमा सवारी साधन चल्न नसक्दा स्थानीयबासीको आवतजावत र उनीहरुका लागि दैनिक उपभोग्य सामान ढुवानी गर्न नसकिएको उनको भनाइ छ ।