: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले लोकतन्त्र, सामाजिक न्याय, समानता र समावेशिताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको बताएका छन्। विश्व आदिवासी दिवसको अवसरमा शुभकामना दिँदै उनले कांग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण समेत भएको उल्लेख गरेका हुन्।
उनले नेपाली कांग्रेसले आदिवासी जनजातिको हक र अधिकारका निमित्त संघर्ष गर्दै आइरहेको इतिहास साक्षी रहेको उल्लेख गरे। ‘नेपाली कांग्रेस लोकतन्त्र, सामाजिक न्याय, समानता र समावेशिताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको पार्टी हो। नेपालको लोकतान्त्रिक आन्दोलनदेखि सामाजिक रूपान्तरणसम्म आइपुग्दा आदिवासी जनजाति लगायत सबै उत्पीडित, सीमान्तकृत र पछाडि पारिएका समुदायका अधिकार र सहभागिताका सवाललाई नेपाली कांग्रेसले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण विषयका रूपमा आत्मसात् गर्दै आएको छ।’ उनले भनेका छन्, ‘नेपाली कांग्रेसले आदिवासी जनजातिको हक र अधिकारका निमित्त संघर्ष गर्दै आइरहेको इतिहास साक्षी छ। आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा, पहिचान र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि भएका विभिन्न संवैधानिक, कानुनी र संस्थागत पहलहरू त्यसै यात्राका महत्वपूर्ण उपलब्धि हुन्। नेपाली कांग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण समेत भएको छ।’
नेपालका आदिवासी जनजातिको उत्थान एवं अधिकार स्थापना तथा आदिवासीहरुको सांस्कृतिक संरक्षणमा समेत दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफलता प्राप्त होस् भन्ने कामना गरेका छन्।