: सुनसरीको बराह क्षेत्रबाट प्रहरीले ४१८ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र एउटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
सुनसरी बराहक्षेत्र नगरपालिका–९ स्थित बराहक्षेत्र–चतरा भित्री सडक खण्डमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । शनिबार बिहान ५ः३० बजे बराहक्षेत्रबाट चतरा आउँदै गरेको प्रदेश १–०२–००२ च ४६५१ नम्बरको कार र को ११ प ५६०९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरिएको थियो । कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरिएको अवस्थामा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको छ । बरामद गरिएको गाजा ४१८ किलो रहेको प्रहरीले जनाएको छ ।
गाँजासहित प्रहरीले कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ का २२ वर्षीया जीवनी राईलाई पक्राउ गरेको छ । यस्तै, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलको पछाडि सवार सोही स्थानका २८ वर्षीय शंकर चौधरी पनि पक्राउ परेका छन् । पक्राउ परेका चारै जनालाई गाँजा, कार र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले बताए ।
सुनसरीमा पछिल्लो समय ठूलो परिमाणमा गाँजा बरामद हुने क्रम बढेको छ । विशेष गरी कोशी प्रदेशका पहाडी जिल्लाबाट उत्पादन तथा संकलन गरिएको गाँजा सुनसरी हुँदै भारततर्फ तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट देखिँदै आएको छ । धनकुटालगायत पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा धरान, बराहक्षेत्रको चतरा, विष्णुपादुका तथा आसपासका क्षेत्र हुँदै विभिन्न माध्यमबाट सीमावर्ती क्षेत्रमा पु¥याउने गरेको प्रहरीको भनाइ छ । तस्करहरूले प्रहरीको निगरानी छल्न सवारीसाधन परिवर्तन गर्ने, गाँजालाई विभिन्न पोकामा प्याक गर्ने तथा स्थानीय सडक प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ ।
बराहक्षेत्र–चतरा सडक खण्डमा ठूलो परिमाणमा गाँजा बरामद हुनुले उक्त सडक लागूऔषध तस्करीका लागि प्रयोग भइरहेको संकेत गरेको छ । प्रहरीले पक्राउ परेकाहरूको बयान तथा उनीहरूको सम्पर्क र गाँजा कहाँबाट ल्याइएको तथा कहाँ लैजान लागिएको थियो भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणका लागि पहाडी क्षेत्रबाट तराई हुँदै भारततर्फ जाने सम्भावित नाकासहित सडक खण्डमा निगरानी बढाएको जनाएको छ ।