। सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
मोरङबाट काठमाडौं जाँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भई अनियन्त्रित भएर सडकको नालामा परी दुर्घटना भएको हो ।
धनुषा गणेशमान नगरपालिका–७ बस्ने २२ वर्षीया रुवी साह, मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ बस्ने १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
त्यस्तै मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ का २० वर्षीय उज्वल चौधरी तथा सुनसरी इटहरी उपमहानगरपालिका १७ बस्ने ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ । हाइसमा चालकसहित १४ जना सवार रहेकामा चार जना घाइते भएका हुन् ।
हाईसका चालक मोरङ बेलबारी नगरपालिका–३ बस्ने २५ वर्षीय उमेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।