: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बदनकुमार भण्डारीले सुनकोशी नदीमा हामफालेर बेपत्ता बृद्ध बा–आमाको खोजीमा सरकारले तदारुकता देखाउनु पर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद भण्डारीले साउन २० गते काभ्रे मण्डनपुर–७ का ६८ वर्षीय केदारनाथ पराजुली र बोनम्यारो पीडित ६७ वर्षीया तिलकुमारी सुनकोशीमा हामफालेर बेपत्ता भएको बताउँदै उनीहरुको खोजीका लागि सरकारलाई आग्रह गरेका हुन् । उनले वृद्ध बाले आफ्नो श्रीमतीलाई पिठ्यूँमा बोकेर सुनकोशी नदीमा हामफालेको र अहिलेसम्म बेपत्ता नै रहेको बताए । सांसद भण्डारीले यो समाचारले मुलुकभर दुःख छाएको बताएका छन् ।
उनले नेपाल सरकारले विशेष प्राथमिकताका साथ बेपत्ता वृद्ध दम्पतीको खोजी गर्नुपर्ने समेत सांसद भण्डारीले बताएका छन् । उनले भने, ‘वृद्ध बा–आमा बेपत्ता हुनु भयो, तर यो सरकार बेपत्ता नहोस् ।’ बोनम्यारो क्यान्सर, रोग अत्यन्तै जटिल हुँदै गएको र नेपालमा बोनम्यारोसम्बन्धी उपचार सरकारी अस्पतालमा सिभिल अस्पतालमा मात्र हुने, क्यान्सर अस्पताल भक्तपुरमा पनि नहुने जानकारी गराउँदै उनले शिक्षण अस्पताल महाराजगञ्जमा हुने भए पनि उक्त सेवा अझै सुचारु नभइसकेको बताए ।
सांसद भण्डारीले केहि गरी कोही बोनम्यारो क्यान्सरबाट पीडित भए भने भारतमा गएर उपचार गराउनु पर्ने परिस्थिति सिर्जना भएको बताए । उनले बोनम्यारो क्यान्सरका डाक्टर पनि ५–७ जना मात्र रहेको र बिरामी कति भन्ने कुरा यकिन पनि नभएको बताए । यो दर्दनाक अवस्थालाई नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्ने बताउँदै विशेषज्ञको अभाव, आवश्यक नीतिको अभाव, उपचारका लागि आवश्यक स्रोत साधन अभावका कारण बोनम्यारोबाट पीडित बिरामीले अन्तयन्तै पीडाका साथ जीवन संघर्ष गर्नुपरिरहेको समेत सांसद भण्डारीले बताएका छन् । उनले यहि पीडा र संघर्ष सहन नसकेर बोनम्यारोपीडित वृद्धा आमा र प्रोस्टेटको बिरामी बाले अप्रिय निर्णय गरेको बताए ।