: आपराधिक पृष्ठभूमिका अभिषेक गिरीले मोरङका व्यवसायीलाई डर, त्रास र प्रभावमा पारेर करिब चार करोड रुपैयाँ मूल्यको पेट्रोल पम्प, जग्गा र त्यसमा बनेका संरचना कब्जा गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । जेलभित्रबाटै ‘डिल’ गरेर पेट्रोल पम्पसहित जग्गा र संरचना कब्जा गरी आफ्नी दिदीको नाममा पास गराउन उनी सफल भएको मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
यस प्रकरणमा अभिषेक र उनकी दिदी अर्पणा तुलाधर गिरी अनुसन्धानको दायरामा परेका छन् । मोरङको साविक बबियाबिर्ता गाविस–७ हाल रंगेली नगरपालिका–१ का ४७ वर्षीय दिलिपकुमार चौधरीले जिल्ला प्रहरी कार्यालय मोरङमा दिएको किटानी जाहेरीका आधारमा अभिषेक र उनकी दिदीविरुद्ध आपराधिक विश्वासघात एवं ठगी कसुरमा मोरङ प्रहरीले अदालतबाट शुक्रबार म्याद थप गर्दै विस्तृत अनुसन्धान अघि बढाएको छ ।
अभिषेक पक्राउ परिसकेका छन् भने अर्पणा फरार रहेकाले उनको खोजी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार चौधरी र साझेदार दिनेश ठाकुरको संयुक्त स्वामित्वमा मोरङको कटहरी गाउँपालिका–४ मा पेट्रोल पम्प सञ्चालनमा थियो । व्यवसायमा आर्थिक समस्या आएपछि उनीहरूले पेट्रोल पम्प, जग्गा र त्यहाँ रहेका सम्पूर्ण संरचना बिक्री गर्ने निर्णय गरेका थिए । २०७९ सालमा उक्त सम्पत्तिको मूल्य चार करोड रुपैयाँ निर्धारण गरिएको थियो ।
जाहेरीअनुसार सम्पत्ति बिक्रीको तयारी भइरहेको सूचना त्यतिबेला मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभिषेकसम्म पुगेको थियो । त्यसपछि उनले चौधरीलाई कारागारमै बोलाएर भेट गरेका थिए । भेटका क्रममा आफू केही दिनमै जेलबाट छुट्ने र सम्पूर्ण सम्पत्ति आफैंले खरिद गर्ने भन्दै दिदी अर्पणा सञ्चालक रहेको अन्नपूर्ण आयल सप्लायर्स प्रालिको नाममा सम्पत्ति पास गरिदिन आग्रह गरेका थिए ।
पीडितले प्रहरीलाई दिएको बयानमा अभिषेकले कारागारभित्रैबाट आफ्ना सहयोगीहरूलाई पटक–पटक घरमा पठाएर सम्पत्ति तत्काल पास गर्न दबाब दिएको उल्लेख छ । रकम भुक्तानीका विषयमा अभिषेकले ‘पास हुने दिन दिदीले जति दिन्छिन्, त्यति लिनुहोस्, बाँकी म जेलबाट निस्किएपछि दुई–चार दिनमै तिरिदिन्छु’ भन्दै विश्वास दिलाएको जाहेरीमा उल्लेख गरिएको छ । गिरीको आपराधिक पृष्ठभूमि, प्रभाव र धम्कीका कारण आफूहरू डराएर सम्झौता गर्न बाध्य भएको पीडितको दाबी छ ।
त्यसपछि २०७९ फागुन २६ गते मालपोत कार्यालय विराटनगरमा चार करोड रुपैयाँ मूल्य उल्लेख गरी कटहरी–४ स्थित १ हजार ३८७ दशमलव ५ वर्गमिटर क्षेत्रफलको जग्गा, पेट्रोल पम्प र त्यहाँ रहेका सम्पूर्ण संरचना अन्नपूर्ण आयल सप्लायर्स प्रालिको नाममा रजिस्ट्रेसन पास गरिएको थियो । पेट्रोल पम्प र जग्गा पास गराउन अर्पणा चार–पाँच जना ‘गुन्डागर्दीमा संलग्न’ व्यक्तिसहित मालपोत कार्यालय पुगेको आरोप जाहेरीमा लगाइएको छ ।
प्रहरीका अनुसार हालसम्मको अनुसन्धानबाट सम्पत्ति आफ्नो नाममा पास भएपछि अर्पणाले विभिन्न चरणमा गरी जम्मा दुई करोड ५० लाख रुपैयाँ मात्र भुक्तानी गरेको देखिन्छ । त्यसको केही समयपछि जेलमुक्त भएका अभिषेकले अत्यावश्यक काम परेको भन्दै पहिले दिइसकेको रकममध्ये ५० लाख रुपैयाँ फिर्ता मागेर लगेको समेत पाइएको छ । तर, त्यो रकम पनि फिर्ता नगरेको पीडितको भनाइ छ ।
यसरी चार करोड रुपैयाँ मूल्यको सम्पत्तिबापत अन्ततः दुई करोड रुपैयाँ अझै नदिएको, बाँकी रकम माग्दा उल्टै धम्की दिने, ज्यानको त्रास देखाउने र पैसा नदिने काम भएको चौधरीको जाहेरीमा उल्लेख छ । आफूहरू योजनाबद्ध रूपमा ठगीमा परेको थाहा पाएपछि प्रहरीमा उजुरी दिन बाध्य भएको उनले बताए । यस घटनासँगै अन्य उजुरीहरूलाई समेत आधार बनाएर मोरङ प्रहरीले अभिषेकमाथि थप अनुसन्धान गरिरहेको छ । काठमाडौंमा अर्को मुद्दाबाट छुटे लगत्तै बिहीबार साँझ बुद्ध एयरमार्फत विराटनगर ल्याइएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कटवालका अनुसार यसअघि नै अदालतबाट पक्राउ अनुमति लिइसकिएकाले त्यसकै आधारमा गिरीलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको हो । अनुसन्धानको क्रममा थप प्रमाण फेला परे संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर पनि आकर्षित हुन सक्ने प्रहरीले जनाएको छ । अभिषेक यसअघि पनि बहुचर्चित ठगी प्रकरणमा अनुसन्धानको दायरामा परिसकेका व्यक्ति हुन् ।
निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई सरकारी ठेक्का मिलाइदिने प्रलोभन देखाएर ठूलो रकम ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीमाथि अनुसन्धान गरेको थियो । सीआईबीले अनुसन्धानपछि २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको ठगी गरेको निष्कर्ष निकाल्दै सोही रकम बिगो मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
काठमाडौं जिल्ला अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि धरौटी बुझाउन नसकेपछि उनी डिल्लीबजार कारागार चलान भएका थिए । पछि जाहेरवाला सुभाष श्रेष्ठसँग १० लाख रुपैयाँमा मिलापत्र भएपछि उनी रिहा भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले बताए । ‘मिलापत्र गरेर छुटेको केही समयमै मोरङ प्रहरीले अभिषेकलाई पक्राउ गरेर विराटनगर लगेको जानकारीमा आएको छ,’ खतिवडाले भने ।
सीआईबीको अनुसन्धानले अभिषेकले विभिन्न व्यक्तिबाट आर्जित सम्पत्ति आफ्नी श्रीमती सोनु आचार्यको नाममा राखेको तथ्य समेत देखाएको थियो । काठमाडौं, मोरङ र धनकुटालगायत विभिन्न जिल्लामा करोडौं रुपैयाँ मूल्यका जग्गा खरिद, नामसारी तथा लगानी भएको विषयमा पनि अनुसन्धान भएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले बताए । उनका अनुसार अभिषेकको सम्पत्तिको स्रोत, आर्थिक आधार, लगानी र खरिद प्रक्रियालगायतका विषयमा बुझ्ने एवं अनुसन्धान गर्ने काम भइरहेको छ ।
४८ वर्षीय अभिषेक यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई नौ वर्ष कैद सजाय भुक्तान गरेका व्यक्ति हुन् । उनी २०७९ चैत ५ गते जेलमुक्त भएका थिए । जेलबाट निस्किएपछि पनि उनीमाथि कैदीबन्दीको सरकारी भत्ता असुली, कैदीबन्दीको श्रमबाट हुने आम्दानी कब्जा, व्यापारीलाई धम्क्याएर रकम उठाउने, मिटरब्याज कारोबार गर्ने तथा विभिन्न व्यक्तिको सम्पत्ति हडप्ने गरेको आरोपहरू लाग्दै आएका छन् ।
कारागारभित्र चौकीदारको भूमिका निर्वाह गर्दा समेत कैदीबन्दीलाई यातना दिएर रकम असुल्ने र बाहिर मिटरब्याजको कारोबार सञ्चालन गर्ने गरेको आरोप उनीमाथि लागेको थियो । मोरङ कारागारका कैदीबन्दीले लत्ता कपडाबापत पाउने सरकारी भत्ता हडपेको आरोपमा असार १३ गते विराटनगर महानगरपालिका–८ स्थित घरबाट उनलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो । उक्त मुद्दामा हाजिर जमानीमा छुटेपछि असार २३ गते सीआईबीले पुनः नियन्त्रणमा लिएर काठमाडौं लगेको थियो ।
हाल मोरङ प्रहरीले अभिषेक, उनका परिवारका सदस्य र निकट सहयोगीहरूको बैंक खाता, घरजग्गा, उद्योग–व्यवसाय, सवारीसाधन, आर्थिक लगानी तथा अन्य सम्पत्तिको स्रोत समेत सूक्ष्म रूपमा केलाइरहेको छ । अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा उनीविरुद्ध थप कसुर आकर्षित हुन सक्ने एसपी कटवालले बताए ।