: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता बर्षमान पुनले पारदर्शिता र जवाफदेहितामा सरकार कमजोर देखिएको बताएका छन् ।
शुक्रबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पुनले लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिता मुख्य कुरा भए पनि सरकार यसैमा कमजोर देखिएको बताएका हुन् ।
उनले हालै सुनसरी तथा मधेश प्रदेशमा भएका घटनाहरूबारे सरकारले संसदलाई जानकारी गराउन आवश्यक नठान्नुले सरकार जवाफदेहिताबाट भागिरहेको देखिएको धारणा राखे । गृहमन्त्री तराई–मधेश भ्रमणमा गएपछि भएका साम्प्रदायिक झडप र अशान्तिबारे गृहमन्त्रीले नै संसदमा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।
नेता पुनले हरेक महिनाको पहिलो साता हुने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर आगामी महिनाको तालिकामा समेत समावेश नभएकोप्रति आपत्ति जनाए । डेलिभरी गर्छौँ भनेर आएको सरकारले न्यूनतम डेलिभरी पनि दिन नसकेको भन्दै उनले झूटा आश्वासनको सट्टा अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।