: धादिङको गजुरी गाउँपालिका–५ राईगाउँका करिब १७० घरधुरीको प्रमुख आम्दानीको स्रोत रहेको घाटबेसीस्थित बगरमा बालुवा संकलन कार्य केही दिनदेखि रोकिएपछि स्थानीय मजदुरको दैनिक जीविकोपार्जन प्रभावित भएको छ । दैनिक ज्याला मजदुरी गरेर परिवारको खर्च चलाउँदै आएका स्थानीयवासी बालुवा संकलन बन्द भएसँगै आर्थिक समस्यामा परेका छन्।
समस्यालाई गम्भीर रूपमा लिँदै गजुरी गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय र छलफल गरी समाधानको पहल थालेको जनाएको छ ।
स्थानीय मजदुर तथा सरोकारवालासँगको छलफलमा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको विषय भएकाले गाउँपालिका समस्याप्रति संवेदनशील रहेको बताए ।
उनले स्थानीयको जीविकोपार्जनलाई निरन्तरता दिँदै विद्यमान कानुनी व्यवस्था पालना, वातावरणीय सन्तुलन संरक्षण तथा दीर्घकालीन रूपमा सबै पक्षलाई स्वीकार्य हुने समाधान खोज्न गाउँपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे । अध्यक्ष श्रेष्ठका अनुसार बालुवा संकलन रोकिँदा ठूलो संख्यामा स्थानीय परिवारको आयआर्जन प्रभावित भएकाले सम्बन्धित सरकारी निकाय, सरोकारवाला संस्था र स्थानीय समुदायसँग समन्वय गरी कानुनको परिधिभित्र रहेर व्यवहारिक तथा दिगो समाधान निकाल्ने प्रयास भइरहेको छ ।
यसैबीच स्थानीय मजदुरहरूले कानुनी प्रक्रिया र वातावरणीय मापदण्डको पूर्ण पालना गर्दै बालुवा संकलन कार्य पुनः सञ्चालन हुने वातावरण मिलाई दिन सम्बन्धित निकायसँग माग गरेका छन् । गाउँपालिकाले स्थानीयको आर्थिक अवस्था, प्राकृतिक स्रोतको दिगो उपयोग र कानुनी व्यवस्थाबीच सन्तुलन कायम हुने गरी दीर्घकालीन समाधान खोज्न आफू प्रतिबद्ध रहेको दोहोर्याएको छ ।