: सिन्धुपाल्चोकमा उद्यमशीलता विस्तार हुने क्रम निरन्तर बढिरहेको देखिएको छ। पछिल्लो आर्थिक वर्ष २०८२/०८३ मा मात्रै जिल्लामा ६७ वटा नयाँ उद्योग दर्ता भएका छन्।
उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका अनुसार कृषि, पर्यटन, उत्पादन, तथा सेवामूलक क्षेत्रका उद्योग थपिँदा जिल्लामा साना तथा घरेलु उद्योगको संख्या उल्लेखनीय रूपमा बढेको हो। नयाँ दर्ता भएका उद्योगहरुमा सेवामूलक २९, कृषि तथा वनजन्य २३, पर्यटन ९, उत्पादनमूलक ५ र सूचना प्रविधिका १ उद्योग रहेको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख त्रिपुरारी बख्रेलका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ६७ नयाँ उद्योग दर्ता हुनुका साथै चार सय ३२ उद्योगको नवीकरण, ५१ उद्योग खारेजी, २२ उद्योगको नामसारी, दुई उद्योगको ठाउँसारी, ३३ उद्योगलाई प्रतिलिपि तथा १७ उद्योगको पूँजी वृद्धि गरिएको छ। वार्षिक नवीकरणतर्फ सेवामूलक दुई सय २२, कृषि तथा वनजन्य एक सय १, पर्यटन ५८ र उत्पादनमूलक ५१ गरी कुल चार सय ३२ उद्योगले नवीकरण गरेका छन्।
यस्तै सेवामूलक २१, कृषि तथा वनजन्य १७, पर्यटन नौ र उत्पादनमूलक चार उद्योग खारेज भएका छन्। कार्यालयका अनुसार गत आर्थिक वर्षमा सेवामूलक १४, उत्पादनमूलक पाँच, कृषि तथा वनजन्य दुई र एक पर्यटन उद्योगको नामसारी गरिएको छ। प्रतिलिपि सेवाअन्तर्गत सेवामूलक १७, कृषि तथा वनजन्य ११, उत्पादनमूलक चार उद्योगलाई प्रतिलिपि प्रदान गरिएको छ।
त्यसैगरी सेवामूलक दुई उद्योगको ठाउँसारी तथा सेवामूलक १०, कृषि तथा वनजन्य चार र उत्पादनमूलक तीन उद्योगको पूँजी वृद्धि गरिएको कार्यालयले जनाएको छ। उद्योग प्रशासनतर्फका सेवा प्रवाहबाट कार्यालयले एक वर्षमा ३८ लाख ३९ हजार आठ सय रुपैयाँ राजस्व संकलन गरेको छ।
वाणिज्य प्रशासनतर्फ पनि सेवा विस्तार भएको कार्यालयको तथ्याङ्कले देखाउँछ। यस अवधिमा ४३ नयाँ व्यवसाय दर्ता, तीन सय ८६ नवीकरण, ४२ खारेजी, एक नामसारी, चार ठाउँसारी, २४ प्रतिलिपि तथा १६ पूँजी वृद्धि गरिएको छ। वाणिज्य प्रशासनतर्फ सेवा प्रवाह गरी कार्यालयले एक वर्षमा २६ लाख छ हजार २५ रुपैयाँ राजस्व संकलन गरेको छ।