: गोसाइँकुण्ड गाउँपालिका–५ मा रहेको सुन्दर धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्ड मेलामा प्लाष्टिकजन्य फोहोर प्रतिबन्ध लगाइएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित गोसाइँकुण्डमा वर्षेनी मेलाको समयमा प्लास्टिकजन्य फोहोर बढ्न थालेपछि यस पटक प्लास्टिकजन्य फोहोर प्रतिबन्ध लगाउने लिखित निर्णय नै गरिएको हो । यहाँ मेलाको समयमा हराजौं तीर्थयात्रीहरु आउने गर्दछन् ।
मेलामा धेरै यात्रु आउने र फोहोर थुप्रिने हुनाले प्रमुख धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा आगामी भदौ महिनामा लाग्ने जनैपूर्णिमा मेलालाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले भएको अन्तरक्रियाले मेला अवधिभर कुण्डको प्रवेशमार्ग धुन्चेदेखि कुण्डसम्म प्लास्टिकजन्य फोहोर गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो । nullचार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा वर्षको दुई पटक जनैपूर्णिमा र गङ्गागादशहरामा विशेष मेला लाग्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले मेलालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गर्न प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । भक्तजनको सुरक्षा, स्वास्थ्य र यातायात व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिने प्रमुख जिल्ला अधिकारी परियारले बताए ।
पर्यवरणीय हिसावले कुण्डको संरक्षण गर्ने वरिपरी जाथाभावी फोहोर गर्न नदिने र यसको कडाइका साथ अनुगमन गरिने छ । जैविक विविधता तथा प्राकृतिक कुराहरुलाइ संरक्षण गर्न प्लास्टिकजन्य फोहोर गर्न प्रतिबन्ध लगाउन लागेको परियारले बताए । मेलाको समयमा आउने भक्तजनहरुले जथाभावी प्लास्टिकजन्य फोहोर जथाभावी फल्न नपाउने बताए ।
गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले स्थानीय सरकारको तर्फबाट मेलालाई सफल बनाउन आवश्यक पूर्वाधार, खानेपानी र प्लाष्टिक जन्यफोहोरमैला व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । गोसाइँकुण्ड–५ का वडाध्यक्ष दावामिङ्मार तामाङ र वडा नं ६ का अध्यक्ष दावासिदार वाइबाले मेला अवधिभर स्थानीयस्तरमा समन्वय र रेखदेखलाई तीव्र पारिने बताए । कुण्डमा जनैपूर्णिमाको अवसरमा एक हप्ताभन्दा बढी मेला लाग्ने गरेको छ । मेला अवधिभर सहयोग र समन्वय गर्ने प्रतिबद्धता जिल्लामा तैनाथ सुरक्षा निकाय, नेपाली सेना, प्रहरी परिचालन हुने गरेका छन् ।
हिमाली क्षेत्रको वातावरणीय संवेदनशीलतालाई ध्यान दिँदै प्लास्टिकजन्य फोहोर नियन्त्रण गर्ने र तीर्थयात्रीका लागि ठाउँ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरिएको छ । सो कार्यक्रममा मेला अवधिभर सुरक्षाकर्मी तैनाथ, स्वास्थ्य शिविर, वातावरणीय संरक्षणका लागि प्लास्टिकजन्य फोहोरमा प्रतिबन्ध, स्वयम्सेवक परिचालनलगायतको निर्णय गरेर जिम्मेवारी समेत तोकिएको प्रमुख जिल्ला अधिकारी परियारले बताए ।
सरोकारवालाको छलफलमा कुण्डमा प्लास्टिकजन्य फोहोर प्रतिबन्ध गर्ने निर्णय भएको छ । निकुञ्ज क्षेत्रभित्र चाउचाउ, बिस्कुटलगायतका खाद्य सामग्री उपभोग गर्दा निस्कने प्लास्टिक र फोहोर जथाभावी फाल्न निषेध गरिएको छ । तीर्थयात्रीले फोहोर तोकिएको सुरक्षित स्थानमा मात्र विसर्जन गर्नु पर्नेछ । विश्वमै दुर्लभ रेडपाण्डाको वासस्थान समेत रहेको यस मार्गमा पर्ने बहुमूल्य जडीबुडी वा वनस्पति नकाट्न तथा रैथाने वन्यजन्तुलाई तर्साउने वा हिर्काउने जस्ता गतिविधि नगर्न निकुञ्ज कार्यालयले कडा निर्देशन जारी गर्दै अनुरोध गरेको छ । मेलाको समग्र व्यवस्थापन तथा सरसफाइका दृष्टिकोणले पनि यस वर्ष अझै व्यवस्थित गरिने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजीव डिएमले बताए ।
nullरमणीय दृष्यावलोकन गर्दै चन्दनबारी, चौलाङपाटी, लौरीविनायक जस्ताहरु बस्ती पार गरेपछि गोसाइँकुण्ड पुगिन्छ । हिमाली क्षेत्रमा १०८ कुण्ड रहेको विश्वास गरिएको छ । समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाईमा रहेको गोसाईकुण्ड २०६३ सालमा विश्व सम्पदा सूची तथा सिमसार क्षेत्र र रामसार सूचीमा समेत सूचीकृत रहेको छ । एकादशीदेखि पूर्णिमासम्म यहाँ नुहाउनेहरूको भीड् लाग्छ । जैविक विविधताको धनी यस क्षेत्रमा वर्षेनी हजारौं विदेशी तथा स्वदेशी पर्यटकहरू आउने गर्दछन् ।
समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मीटरको उचाईमा रहेको गोसाइँकुण्डको लम्बाई ६ सय मीटर छ भने चौडाई ३ सय ७० मीटर छ र १८ दशमलव ३ मीटर गहिरो रहेको छ । कुण्डमा नुहाउनाले र पुजा गर्नाले जीवनभर गरेको पापबाट मुक्ति मिल्ने तथा सोचेको पुरा हुने धार्मिक मान्यता छ । परापूर्वकालमा समुद्र मन्थनबाट निस्किएको कालकूट विष खाएर सम्पूर्ण प्राणी जगतलाई बचाएका शिवले विष घाँटीमा अड्किएपछि पानीका खोजीमा उत्तरापन्थ लाग्दा बेत्रावतीमा आइपुगेर बेतका लौराले पहरामा हानी पानी निकालेर पिएको र त्यहाँबाट पनि डाह शान्त नभएकाले उत्तरतर्फ लागेर पहाडमा त्रिशूलले प्रहार गरी पानी निकाली डाह शान्त गरेको र शिवले रोपेको त्रिशूल धाराको पानी जम्मा भई गोसाइँकुण्ड बनेको भनाइ छ ।
राष्ट्रिय विभूति अमरसिंह थापाले पनि आफ्नो देहत्याग गोसाइँकुण्डमै आएर गरेका थिए । उनी वास बसेका स्थानमा उनको शालिक बनाइएको छ ।
तामाङ समुदायको बसोवास रहेको यस क्षेत्रमा सो समुदायको वेशभूषा, रहनसहन र संस्कृतिले पर्यटकलाई थप आकर्षित गरेको छ । गोसाइँकुण्ड मेलामा विभिन्न लामा, झाँक्री नाच तथा तामाङ सेलो नृत्य समेत प्रदर्शन गरिन्छ । काठमाडौंको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक पदयात्रा गन्तब्य हो ।