: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा न्युजिल्यान्ड‘ए’सँग एकदिवसीय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। आईसीसी एकदिवसीय विश्वकप २०२७ को तयारीलाई ध्यानमा राख्दै तय गरिएको यो खेललाई नेपाली क्रिकेटका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। नेपालले पछिल्ला वर्षहरूमा टेस्ट राष्ट्रका ‘ए’ टोलीसँग नियमित प्रतिस्पर्धा गर्दै आफ्नो स्तर उकास्ने प्रयास गरिरहेको छ।
आयरल्यान्ड वुल्भ्स, नेपाल ‘ए’ का अभ्यास खेलहरू तथा आईसीसी क्रिकेट विश्वकप लिग–२ का अनुभवपछि अब न्युजिल्यान्ड ‘ए’सँगको शृंखला नेपाली खेलाडीका लागि ठूलो ‘एक्सपोजर’ हुने अपेक्षा गरिएको छ।
न्युजिल्यान्ड क्रिकेटले पनि पछिल्ला समय आफ्नो ‘ए’ टोलीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बढी अवसर दिँदै आएको छ। घरेलु सिजनअघि उदाउँदा खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यका साथ ‘ए’ टोलीलाई विभिन्न देशमा पठाउने नीति अपनाएको छ। नेपालका लागि यो खेल केवल मैत्रीपूर्ण खेल मात्र हुनेछैन, कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले एकदिवसीय क्रिकेटमा आफ्नो संयोजन बलियो बनाउने, नयाँ खेलाडीलाई अवसर दिने तथा विश्वकप छनोटअघिको तयारीलाई अझ मजबुत बनाउने अवसरका रुपमा पनि हेरिएको छ। न्युजिल्यान्ड ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय अनुभव बटुलेका र ‘ब्ल्याक क्याप्स’मा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका खेलाडी रहने छन्। त्यसैले न्युजिल्यान्डविरुद्ध राम्रो प्रदर्शन गर्न सके नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाउने छन्।
नेपालले पछिल्ला केही वर्षमा एकदिवसीय क्रिकेटमा उल्लेखनीय प्रगति गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा प्रतिस्पर्धात्मक प्रदर्शनसँगै बलिया टोलीविरुद्ध पनि जित निकाल्ने क्षमता देखाइसकेको छ। यही आत्मविश्वासलाई निरन्तरता दिन न्युजिल्यान्ड ‘ए’सँगको खेला महत्वपूर्ण हुने विश्वास गरिएको छ।
न्युजिल्यान्ड ‘ए’ले नेपालसँगै अस्ट्रेलियाका स्थानीय टाृलीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ। न्युजिल्यान्डले सेप्टेम्बर २ मा दक्षिण अस्ट्रेलिया, सेप्टेम्बर ४ मा तास्मानिया र सेप्टेम्बर ६ मा नेपालसँग खेल्नेछ। तीनवटै खेल अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउन्ड–२ मा हुनेछ। यसअघि न्युजिल्यान्ड ‘ए’ले अगस्ट २० देखि ३० सम्म हुने एनटी टप एन्ड टीट्वेन्टी शृंखलामा प्रतिस्पर्धा गर्नेछ।