। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्न वा लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा महिलाका लागि सरकारले अघि बढाएको नि:शुल्क ब्लु बस सेवाको सम्बन्धमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गरेर लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएका हुन् ।
उनले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आगमन सम्बन्धी व्यवहारिक कठिनाइलाई तत्काल सम्बोधन गर्ने लक्षित उपायका रूपमा ब्लु बस सेवा अगाडि बढाइएको स्पष्ट पारे ।
नि:शुल्क ब्लु बस लैंगिक असमानतातर्फ धकेल्ने कदम नभई विद्यमान असमान जोखिम न्यूनीकरण गर्ने विषयलाई विशेष लक्षित तथा आवश्यकतामा आधारित उपाय भएको उनको भनाइ छ ।
महिला र पुरुषले एउटै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु नै सरकारको मूल लक्ष्य भएको धारणा उनले राखे ।
मन्त्री बादीले ब्लु बसको सेवा केवल प्रचार वा लोकप्रियताका लागि ल्याइएको अल्पकालीन घोषणा नभइ महिलाले हाल भोगिरहेका जोखिमलाई तत्काल सम्बोधन गर्दै समग्र सार्वजनिक यातायात प्रणालीको दीर्घकालीन सुधारतर्फ अघि बढ्ने लक्षित र संक्रमणकालीन प्रयास भएको बताइन् ।
सार्वजनिक यातायात प्रणालीलाई लैंगिक मैत्री, सुरक्षित, मर्यादित र पहुँचयुक्त र उत्तरदायी बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।