। वैदेशिक रोजगारीका नाममा साउदी अरब पठाइदिने प्रलोभन देखाएर पाँच युवाबाट साढे ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी परेको छ ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–६ लक्ष्मीपुर बगेवाका अनिल कुमार महरा, दीपेन्द्र मण्डल, संजिप महरा, मुकेशकुमार राम तथा महोत्तरी गाउँपालिका–१ पर्साका ललितकुमार महराले जलेश्वर नगरपालिका–१ का राजेश महरा, उनकी श्रीमती मञ्जु देवी र एकडारा गाउँपालिकाका जोगिन्द्र महराविरुद्ध साउन १ गते ठगी तथा विश्वासघातसम्बन्धी उजुरी दर्ता गराएका हुन् ।
उजुरीअनुसार विपक्षीहरूले साउदी अरबको प्रतिष्ठित कम्पनीमा आकर्षक तलब र सुविधा भएको रोजगारीमा पठाइदिने आश्वासन दिएका थिए ।
सोही विश्वासमा उनीहरूले २०८३ असार ११ गते प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँ उठाई बुटवलस्थित एक मेडिकलमा स्वास्थ्य परीक्षण गराएका थिए। त्यसपछि असार २४ गते भिसा आइसकेको भन्दै प्रतिव्यक्ति थप १ लाखदेखि १ लाख १० हजार रुपैयाँ बुझाउन लगाइएको उजुरीमा उल्लेख छ ।
पीडितहरूले मञ्जु देवीको नाममा रहेको प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंक, जलेश्वर शाखाका खातामा प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँका दरले जम्मा ७ लाख ५० हजार रुपैयाँ जम्मा गरेको बताएका छन् ।
रकम बुझाएपछि काठमाडौं बोलाइए पनि वैदेशिक रोजगारीका लागि कुनै प्रक्रिया अघि नबढाई तीन दिनसम्म अलपत्र पारिएको र अन्ततः घर फर्किन बाध्य बनाइएको उनीहरूको आरोप छ । त्यसयता आरोपितहरू सम्पर्कविहीन रहेको उजुरीमा उल्लेख गरिएको छ ।
पीडितहरूले आरोपितहरूको कार्य ठगी, आपराधिक विश्वासघात र अनुचित लाभ लिने उद्देश्यबाट प्रेरित भएको दाबी गर्दै निष्पक्ष अनुसन्धान, पक्राउ, कानुनबमोजिम कारबाही तथा ठगी भएको ७ लाख ५० हजार रुपैयाँ ब्याजसहित फिर्ता गराइदिन प्रहरीसमक्ष माग गरेका छन् ।
उजुरीसँगै पीडितहरूले आफ्नो राहदानीको प्रतिलिपि र बैंकमा रकम जम्मा गरेको रसिदसमेत प्रमाणका रूपमा पेश गरेका छन् ।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोले ठगी गरिएको आरोप लागेका व्यक्तिहरु सम्पर्क र घरमा समेत फेला नपरेको बताए । खोजी कार्य जारी रहेको र पक्राउ परे पश्चात् ठगी मुद्दामा जाहेरी दर्ता गरेर कारबाही प्रकिया अघि बढाउने उनको भनाइ छ ।