: अविरल बर्षापछि झरेको पहिरोले गोरखाको एक पेट्रोलपम्प पहिरोले क्षतिग्रस्त भएको छ । गोरखा नगरपालिका वडा नं. ११ बाह्रकिलोस्थित गोरखकाली फ्यूल सेण्टर बिहीबार बिहान पहिरोले क्षतिग्रस्त भएको हो ।
राती १२ बजेदेखि अलिअलि गरेर झर्न थालेको पहिरोले बिहान साढे ६ बजेतिर पेट्रोलपम्पको धेरै संरचना पुरिएको पम्पका सञ्चालक भोला मरहट्टाले जानकारी दिए । ‘कर्मचारीहरुले त्यहाँ पहिरो जान थालेको भनेर राती १२ बजे नै खबर गरेका थिए । बिहान ५ बजेतिर म पनि त्यहाँ पुगेँ’, मरहट्टाले भने, ‘हेर्दाहेर्दै माथिबाट झरेको पहिरोले रिटेनिङ वाल भत्कायो । त्यसले दुवै पेट्रोल डिस्पेन्सर ढलायो । संरचनाको छानाको ट्रस्टमा पनि क्षति पुर्याएको छ । स्टाफ घर, जेनेरेटर हाउस, र जेनेरेटरमा पनि क्षति पुर्याएको छ ।’
बाहिरि मान्छेले पार्किङ गरिराखेको पाँच थान स्कुटर र मोटरसाइकल पनि पुरिएको उनले बताए । घटनालगत्तै पुगेको प्रहरी र स्थानीयहरू मिलेर पुरिएको मोटरसाइकललाई निकाल्ने काम भइरहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।