। राप्रपाले प्रदेश सरकारमा सहभागी हुने या नहुने भन्ने निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको हितलाई ध्यानमा राखेर आवश्यक निर्णय लिने जिम्मा अध्यक्ष लिङ्देनलाई जिम्मा दिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले राप्रपा प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल र लालायित नभएको पनि बताएका छन् । ‘प्रदेश सरकारहरु अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुन् भन्ने हाम्रो धारणा रहेको छ,’ उनले भने, ‘प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ।’
त्यस्तै उनले प्रदेश सरकारका सम्बन्धमा उपयुक्त समयमा पार्टीको निर्देशन आउने पनि बताएका छन् । पार्टीको निर्देशनबिना सत्ता केन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरुलाई बैठकले निर्देशन दिएको उनको भनाइ छ ।