: प्रधानमन्त्री बालेन शाह र प्रधान सेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ। उनीहरूबीच मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्।
सैनिक प्रवक्ता राजाराम बस्नेतले प्रधानमन्त्री र प्रधान सेनापतिबीच भेटघाट नियमित भएको बताए। उनले अन्नपूर्णसँग भने,'पछिल्लो समय सामसामयिक विषयमा उहाँहरूबीच छलफल भएको हो।' भेटमा मोरङ र मधेशमा उत्पन्न दुई समूहबीचको विवादलगायत मुलुकको समग्र सुरक्षा व्यवस्थाबारे छलफल भएको बुझिएको छ।
गोकर्णेश्वरमा रास्वपाका सांसद राजुनाथ पाण्डे र एक सैनिक अधिकारीबीच व्यारेकको पर्खालको विषयलाई लिएर भएको भनाभन सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला प्रधानमन्त्री र प्रधानसेनापतिबीचको भेटघाटलाई अर्थपूर्णरुपमा लिइएको छ।
भेटमा पछिल्ला सुरक्षा चुनौती,शान्ति सुव्यवस्था कायम गर्ने विषय तथा सुरक्षा निकायबीचको समन्वयका बारेमा पनि कुराकानी भएको स्रोतले जनाएको छ।