: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एक जना महिलासहित सात सदस्यीय बनाउन सहमति जुटाएको छ ।
मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा ९ सदस्यीय सञ्चालक समिति प्रस्ताव गरिएकोमा पूर्ववत रुपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थामा विविधीकरण हुनु राम्रो भए पनि धेरै मानिस थप्दा व्यक्तित्वहरूको टकराव हुने जोखिम रहने बताए । त्यस्तै उनले विधेयकमा नेपाल सरकारले प्रत्यक्ष निर्देशन दिन सक्ने बुँदा हटाउँदा नेपाल राष्ट्र बैंक र सरकारबीच समन्वयका लागि अर्थ सचिवको उपस्थिति अनिवार्य रहनु पर्ने धारणा राखे ।
योग्यता र कार्यअनुभवको दायरामा उच्च नैतिक चरित्र, स्नातकोत्तर तहको शिक्षा अनिवार्य हुनुपर्ने भन्दै उनले कार्यअनुभवको परिभाषा धेरै कडा नबनाई खुकुलो र व्यावहारिक बनाइनु पर्नेमा जोड दिए । राष्ट्र बैंक विशिष्टीकृत संस्था भएकाले नातावाद वा राजनीतिक भर्ती केन्द्र बनाउन नहुने उनले बताए । मुलुकको मौद्रिक तथा वित्तीय प्रणालीलाई थप सुदृढ, विश्वसनीय र समयसापेक्ष बनाउन वाञ्छनीय भएकाले राष्ट्र बैंक ऐनलाई संशोधन गर्न उक्त विधेयक तर्जुमा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।