: विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पद संकटमा परेको छ। इन्फान्टिनोको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै इङ्लिस फुटबल एसोसिएसन (एफए) ले आगामी फिफा अध्यक्षीय निर्वाचनमा उनको अभियानलाई समर्थन नगर्ने घोषणा गरेको छ। यससँगै इन्फान्टिनोलाई नेतृत्वबाट विस्थापित गर्ने अभियानमा युरोपेली फुटबल जोडतोडले लागेको छ।
इङ्लिस एफएको यो निर्णय वेल्स फुटबल एसोसिएसनले इन्फान्टिनोलाई निर्वाचनमा समर्थन नगर्ने घोषणा गरेपछि आएको हो। बेलायती फुटबलका दुई प्रमुख संघको यस्तो कदमले फिफाको आगामी निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र राजनीतिक बनाउने देखिएको छ। इन्फान्टिनोले सन् २०२७ देखि २०३१ सम्मको कार्यकालका लागि पुन : अध्यक्ष बन्ने इच्छा यसअघि नै सार्वजनिक गरिसकेका छन्।
इन्फान्टिनोसँगको पछिल्लो असन्तुष्टिको मुख्य कारण फिफा विश्वकप तथा अन्य प्रतियोगितासँग जोडिएको व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्ताव हो। फिफाले आगामी विश्वकपलगायतका प्रतियोगिताबाट हुने आम्दानी व्यवस्थापन गर्ने नयाँ संरचनामा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने योजना अघि सारेपछि त्यसको व्यापक विरोध भएको थियो। यो प्रस्तावबाट फिफाले अर्बौं डलर कमाउने अनुमान गरिएको थियो। तर, पारदर्शिता, सुशासन र फुटबलको व्यावसायिक अधिकार निजी क्षेत्रलाई हस्तान्तरण गर्ने विषयमा विभिन्न सदस्य संघ र सरोकारवालाले गम्भीर प्रश्न उठाएपछि इन्फान्टिनो पछि हट्न बाध्य भएका थिए।
यस घटनाले इन्फान्टिनोको नेतृत्व शैलीमाथि पनि प्रश्न उठाएको छ। युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले समेत फिफाको नेतृत्वप्रति आफ्नो विश्वास कमजोर भएको जनाएको छ। प्रस्तावित व्यावसायिक योजनालाई लिएर यूईएफएले कानुनी कदम चाल्नका लागि अध्ययन गरिरहेको बताइएको छ। युरोपेली फुटबल संघहरूबीच इन्फान्टिनोको नेतृत्वविरुद्ध साझा धारणा बनाउन सकिने सम्भावनाले फिफा अध्यक्षीय निर्वाचनमा नयाँ समीकरण बन्ने अनुमान गरिएको छ।
इङ्लिस एफएको कदमलाई त्यसै कारण केवल एउटा राष्ट्रिय संघको असन्तुष्टिका रूपमा मात्र हेरिएको छैन। विश्व फुटबलको शक्तिशाली क्षेत्र मानिने युरोपबाट इन्फान्टिनोविरुद्ध असहमतिको आवाज बढ्दै जाँदा उनको निर्वाचन अभियानका लागि चुनौती पनि थपिएको छ। यद्यपि, फिफाको अध्यक्ष चयनमा युरोपेली मत मात्रै निर्णायक हुँदैन। फिफाका २११ सदस्य संघले मतदान गर्ने भएकाले इन्फान्टिनोलाई चुनौती दिन युरोपबाहिरका महासंघ र सदस्य राष्ट्रको समर्थन पनि आवश्यक हुनेछ।
इन्फान्टिनो सन् २०१६ मा फिफा अध्यक्ष निर्वाचित भएका थिए। त्यसपछि उनी २०१९ र २०२३ मा पुन : निर्वाचित भएका थिए। पछिल्लो समय भने उनको नेतृत्वमाथि आलोचना बढिरहेको छ। विशेषगरी फिफाको निर्णय प्रक्रियामा पारदर्शिता, सदस्य संघसँगको संवाद र विश्व फुटबलका व्यावसायिक अधिकारसम्बन्धी निर्णयलाई लिएर असन्तुष्टि चुलिएको हो। यसबीच, इन्फान्टिनोविरुद्धको असन्तुष्टि अब केवल आलोचनामा सीमित रहने वा औपचारिक चुनौतीमा परिणत हुने भन्ने प्रश्न महŒवपूर्ण बनेको छ। यूईएफए, इङ्लिस एफए र वेल्स एफएजस्ता प्रभावशाली युरोपेली पक्षको असहमति बढ्दै गएमा अन्य सदस्य संघ पनि पुनर्विचार गर्न सक्ने सम्भावना बढेको छ। त्यसो भए इन्फान्टिनोको चौथो कार्यकालको यात्रा सहज नहुने देखिएको छ।
तर, अहिलेको अवस्थामा इङ्लिस एफएको कदमलाई इन्फान्टिनोलाई तत्काल पदबाट हटाउने औपचारिक प्रक्रिया सुरु भएको भन्दा पनि उनको निर्वाचन अभियानविरुद्ध राजनीतिक दबाब बढाउने महत्वपूर्ण कदमका रूपमा बुझिएको छ। अध्यक्षलाई पदबाट हटाउन वा निर्वाचनमा पराजित गर्न आवश्यक अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्ने भएकाले अबको केही महिना विश्व फुटबलको शक्ति संघर्षका लागि निर्णायक बन्नेछ।
आगामी फिफा अध्यक्षीय निर्वाचन नजिकिँदै जाँदा इन्फान्टिनोविरुद्ध चुनौती दिने उम्मेदवार को बन्छन् र विभिन्न महादेशका फुटबल संघ कुन पक्षमा उभिन्छन् भन्ने विषयले विश्व फुटबलको भविष्यको नेतृत्व निर्धारण गर्नेछ। इङ्लिस एफएको पछिल्लो कदमले भने एउटा सन्देश स्पष्ट दिएको छ, इन्फान्टिनोको नेतृत्वलाई लिएर फुटबल जगतभित्रको असन्तुष्टि अब सार्वजनिक विरोध र चुनावी रणनीतिमा परिणत हुन थालेको छ।