: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि कम्युनिस्ट तथा वामपन्थी सहकार्य आवश्यक रहेको बताएका छन्।
२४औं बोत्ले स्मृति दिवसका अवसरमा नेकपा, दोलखाले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विगतका मतभेद वा आलोचनालाई छाडेर देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि दृढताका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
उनले विचार र सिद्धान्तको विकास भन्दा पनि केवल पद हासिल गर्ने होडबाजीमा केन्द्रित हुँदा कम्युनिस्ट आदर्शबाट विचलन आएको र मुख्य गल्ती यहीँ भएको स्वीकार गरे।
अहिले नै पूर्ण पार्टी एकता नभए पनि विभिन्न मुद्दामा टेकेर कार्यगत एकता गर्दै अघि बढ्नुपर्ने उनले बताए। संयोजक प्रचण्डले वामपन्थीहरू मात्र नभई राष्ट्र जोगाउन नेपाली कांग्रेस लगायतका दलहरूसँग पनि सहकार्य आवश्यक रहेको बताए। उनले सडक, सदन र आगामी निर्वाचनमा दृढतापूर्वक प्रस्तुत भएर राजनीतिक परिस्थितिलाई सकारात्मक मोड दिनुपर्ने उल्लेख गरे।