। गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक सहायता परिचालनमा सरकार कमजोर देखिएको छ ।
अर्थ मन्त्रालयका अनुसार एक वर्ष अवधिमा सरकारले १ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ बराबर वैदेशिक सहायता प्राप्ति गरेको छ । जुन लक्ष्यको ४५.६६ प्रतिशतमात्र हो ।
यस आवमा सरकारले वैदेशिक ऋण र अनुदान गरी कुल २ खर्ब ८७ अर्ब ११ करोड बराबर सहायता परिचालन लक्ष्य राखेको थियो । तर, प्राप्ति भने १ खर्ब ३१ अर्ब हाराहारी मात्र भएको हो ।
वैदेशिक सहायता परिचालनमा ऋण प्राप्ति लक्ष्यको ४६.८५ प्रतिशत बराबर भएको छ । यस आवमा सरकारले वैदेशिक ऋण परिचालन २ खर्ब ३३ अर्ब ६६ करोड बराबर लिने लक्ष्य राखेको थियो । प्राप्ति १ खर्ब ९ अर्ब ४६ करोड हाराहारी भएको छ ।
अनुदान प्राप्तिको लक्ष्य ५३ अर्ब ४४ करोड थियो । प्राप्ति भने २१ अर्ब ६१ करोडमात्र भएको छ । नेपालमा वैदेशिक सहायता परिचालनको प्रगति पूँजीगत खर्चमा प्रत्यक्ष जोडिन्छ । आयोजनाले अपेक्षित गति लिन नसक्दा वैदेशिक सहायता प्राप्ति समेत प्रभावित बनेको हो ।
१ खर्ब ६१ अर्ब प्रतिबद्धता
यस आव वैदेशिक सहायता प्रतिबद्धता १ खर्ब ६१ अर्ब ४६ करोड बराबर प्राप्त भएको मन्त्रालयले जनाएको छ । यसमध्ये १ खर्ब २४ अर्ब ३३ करोड ऋण र ३७ अर्ब १२ करोड अनुदान प्रतिबद्धता प्राप्त भएको छ ।
यसमध्ये द्विपक्षीय (मुलुकहरू) प्रतिबद्धता ५८ अर्ब ८३ करोड र बहुपक्षीय (बहुराष्ट्रिय निकाय) प्रतिबद्धता १ खर्ब २ अर्ब ६२ करोड रुपैयाँ बराबर प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।