मुख्य समाचार
भुटानी शरणार्थीलाई कानुनी प्रक्रियाअनुसार मिर्गौला प्रत्यारोपण गर्नबाट रोक्न नमिल्ने परमादेश
भुटानी शरणार्थीलाई कानुनी प्रक्रियाअनुसार मिर्गौला प्रत्यारोपण गर्नबाट रोक्न नमिल्ने परमादेश

। सर्वोच्च अदालतले नेपालमा शरणार्थीका रूपमा बसोबास गरिरहेका भुटानी शरणार्थीलाई कानुनी प्रक्रियाअनुसार मिर्गौला प्रत्यारोपण गर्नबाट रोक्न नमिल्ने परमादेश दिएको छ ।

सोमबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस्तो परमादेश दिएको हो ।

अदालतले मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी विद्यमान कानुनमा शरणार्थीबारे स्पष्ट व्यवस्था नभएको आधारमा जीवनरक्षक उपचारबाट वञ्चित गर्न नमिल्ने निष्कर्ष निकाल्दै अश्विनी मेडिकल कलेज एण्ड हस्पिटल प्रालि (मेडिसिटी अस्पताल) को निर्णय बदर गरेको हो ।

अस्पतालले पनि प्रत्यारोपण गर्न सिफारिस गरेपछि कानुनी व्यवस्थाको अभाव देखाउँदै प्रक्रिया अघि बढाएको थिएन ।


खर्कबहादुर गजमेरले श्रीमतीसँग (सारा गजमेर) को नाता प्रमाणित गरी मिर्गौला प्रत्यारोपणका लागि मेडिसिटी अस्पतालमा निवेदन दिएका थिए ।

तर अस्पतालको मिर्गौैला प्रत्यारोपण स्वीकृत समितिले ८ असार २०८३ बैठक बस्दै भुटानी शरणाथीसम्बन्धी प्रमाणित परिचयपत्र पेस गर्न नसकेको र मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा २(छ) मा शरणार्थीका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नभएको भन्दै अस्पतालले प्रत्यारोपण निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध दायर रिटमा सर्वोच्चले यस्तो अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले आवश्यक कानुनी प्रक्रिया पूरा गरी निवेदन बमोजिम मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराउन आदेश दिएको छ ।

आदेशमा भनिएको छ, निवेदकहरूले भुटानी शरणार्थीसम्बन्धी परिचयपत्र पेस गर्न नसकेको र मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा २(छ) मा शरणार्थीका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नभएको भन्दै अस्पतालले प्रत्यारोपण नगर्ने निर्णय गरेको देखिन्छ ।’

तर मिर्गौला प्रत्यारोपण जस्तो जीवनरक्षक उपचार प्राप्त गर्ने प्रयास असफल हुँदा बिरामीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै जाने भएकाले कानुनी अस्पष्टतालाई आधार बनाएर उपचारबाट वञ्चित गर्न नमिल्ने सर्वोच्चको ठहर छ ।

अदालतले शरणार्थीका रूपमा नेपालमा बसोबास गरिरहेका व्यक्तिको विशिष्ट कानुनी अवस्था र मानवीय पक्षलाई समेत विचार गर्नुपर्ने उल्लेख गरेको छ ।

आदेशमा भनिएको छ, ‘जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको उपचारको विषयमा कानुनको शाब्दिक व्याख्या मात्र गरेर उपचार अस्वीकार गर्न मिल्दैन ।’

सर्वोच्चले आदेशमा मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा २ मा रहेको ‘नजिकको नातेदार’ सम्बन्धी व्यवस्थासमेत व्याख्या गरेको छ ।

उक्त व्यवस्थाअनुसार पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, दाजुभाइ, जेठानलगायत सम्बन्धित नातेदारबीच अंग प्रत्यारोपण गर्न सकिने स्पष्ट व्यवस्था रहेको अदालतले स्मरण गराएको छ ।

अदालतले जिल्ला प्रशासन कार्यालय झापाबाट प्राप्त शरणार्थी बस्ती व्यवस्थापनसम्बन्धी अभिलेख, नाता प्रमाणित गर्ने कागजात तथा अन्य संलग्न प्रमाणहरू अध्ययन गर्दा निवेदकहरू श्रीमान–श्रीमती रहेको देखिएको उल्लेख गरेको छ ।

साथै, निवेदक नेपाली नागरिक नभई भुटानी शरणार्थीको हैसियतमा नेपालमा शरणार्थी शिविरमा बसोबास गरिरहेको तथ्यमा कुनै विवाद नरहेको पनि आदेशमा उल्लेख छ ।

आदेशमा नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकको पनि व्याख्या गरिएको छ। संविधानको धारा १६(१) ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको तथा धारा ३५ ले स्वास्थ्यसम्बन्धी हकबाट कुनै पनि व्यक्तिलाई वञ्चित गर्न नहुने व्यवस्था गरेको भन्दै अदालतले शरणार्थीलाई पनि जीवनरक्षक उपचारबाट वञ्चित गर्न नमिल्ने निष्कर्ष निकालेको छ ।

आदेशमा भनिएको छ , ‘निवेदक र उनकी पत्नी नेपाली नागरिक नभए पनि उनीहरूको जीवनको अधिकार संविधानले संरक्षण गरेको अधिकार हो। स्वास्थ्योपचारको अधिकारबाट वञ्चित गर्दा उनीहरूको जीवनको हकमै प्रत्यक्ष असर पर्ने भएकाले स्वास्थ्य सेवा जस्तो जीवन–मरणसँग जोडिएको संवेदनशील विषयमा कानुनको संकीर्ण व्याख्या गरेर उपचार रोक्न मिल्दैन ।’

आदेशमा बिरामीको दुवै मिर्गौला निष्क्रिय भइसकेको, चिकित्सकले तत्काल प्रत्यारोपण गर्न सिफारिस गरेको तथा उपचारमा ढिलाइ हुँदा ज्यानै जोखिममा पर्ने अवस्था देखिएको उल्लेख गरिएको छ। यस्तो अवस्थामा अस्पतालले कानुनी अस्पष्टताको कारण देखाएर उपचार रोक्नु उचित नहुने सर्वोच्चको ठहर छ।

यस आधारमा अदालतले मेडिसिटी अस्पतालले ८ असार २०८३ मा गरेको मिर्गौला प्रत्यारोपण नगर्ने निर्णय तत्काल बदर गर्दै निवेदनबमोजिम आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रत्यारोपण सेवा उपलब्ध गराउन परमादेश जारी गरेको छ ।

पूर्ण फैसला तयार हुन समय लाग्ने भएकाले हाल संक्षिप्त आदेश जारी गरिएको अदालतले जनाएको छ ।

यो आदेशले नेपालमा बसोबास गरिरहेका शरणार्थीहरूको स्वास्थ्य अधिकारका सम्बन्धमा महत्त्वपूर्ण कानुनी नजिर स्थापित गरेको छ ।

कानुनमा स्पष्ट व्यवस्था नभएको अवस्थासमेत जीवनरक्षक उपचारबाट कसैलाई वञ्चित गर्न नहुने र संविधानले प्रत्याभूत गरेको जीवन तथा स्वास्थ्यको हक सबै व्यक्तिमा समान रूपमा लागू हुने सर्वोच्च अदालतले स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक सहायता परिचालनमा सरकार कमजोर देखिएको छ । अर्थ मन्त्रालयका अनुसार एक वर्ष अवधिमा सरकारले १ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ बराबर वैदेशिक सहायता प्राप्ति गरेको छ । जुन लक्ष्यको ४५.६६ प्रतिशतमात्र हो । यस आवमा सरकारले वैदेशिक ऋण र अनुदान गरी कुल २ खर्ब ८७ अर्ब ११ करोड बराबर ...
। हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पकरीबाट गएराति बथनाहातर्फ जाँदै गरेको स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शङ्कर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरीका ...
। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । ‘सुनसरी, सिरहा, धनुषा र पर्सालगायतका जिल्लाहरूमा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?’ उनी भन्छन्, ‘यसबारे सरकारले चित्बुझ्दो जवाफ दिनुपर्छ र घटनाको जिम्मा लिनुपर्छ ।’ प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले क्षति भएको सम्पत्तिको एकीन ...
। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर गृह मन्त्रालय मातहत नै फर्काउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले शक्ति केन्द्रीकरणले लोकतन्त्रमा विकृति ल्याउने तर्क गरेका हुन् । सांसद केसीले शक्तिले भ्रष्ट ...
। नेपाली कांग्रेसले सुकुमवासी बस्तीबाट हटाइएकाहरूलाई तत्काल कम्तीमा पाँच वटा सुविधा दिन माग गरेको छ । भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले काठमाडौं उपत्यकाका सुकुमवासी बस्तीबाट हटाइएकाहरूलाई सुविधा उपलब्ध हुने गरी सरकारसँग विभिन्न पाँच वटा माग राखेका हुन् ...