मुख्य समाचार
प्रहरीको गोलीपछि खुल्यो ‘कर्मा ग्याङ’को लुट साम्राज्य
प्रहरीको गोलीपछि खुल्यो ‘कर्मा ग्याङ’को लुट साम्राज्य

: गत असार १३ गते काठमाडौंको शान्तिनगरमा बाटोमा हिँडिरहेकी एक महिलालाई मोटरसाइकलमा आएका दुई जनाले बाटो रोके। ‘पेप्सीकोला जाने बाटो कता हो ?’ भन्दै अल्मल्याए। त्यसपछि उनलाई बाटोमै लडाएर घाँटीमा लगाएको करिब साढे दुई तोलाको सुनको सिक्री लुटेर फरार भए।
ooo

७ साउन दिउँसो करिब साढे १ बजेतिर यही समूहले धापासी हाइट मन्दिरनजिक हिँडिरहेकी ६६ वर्षीया महिलाको घाँटीबाट सुनको सिक्री लुट्यो। मोटरसाइकलमा आएका व्यक्तिहरूले महिलालाई लछारपछार गर्दै सिक्री लुटेर भागेका थिए।




ooo
१५ असार राति बनेपास्थित सेतीदेवी दुग्ध सहकारी गाई फार्मनजिक दूध लिन आएकी एक महिलाको मुख थुनेर, घाँटी समात्दै सिक्री लुटिएको थियो।
सोही १५ असारको बिहानै कायस्थ थरका एक व्यक्ति पनि यही समूहको निशानामा परे। ‘जडिबुटी जाने बाटो कता हो ? ’ भन्दै सोध्ने निहुँमा उनीसँग करिब तीन तोला सुनको सिक्री लुटेर समूह फरार भयो।
ooo

पछिल्लो समय काठमाडौं उपत्यकामा वृद्धवृद्धालाई लक्षित गर्दै लुटपाट गर्ने तथा सुनका सिक्री लुटेर फरार हुने घटना उल्लेख्य रूपमा बढेका छन्। कहिले काठमाडौं, कहिले भक्तपुर त कहिले अन्य स्थानबाट उस्तै प्रकृतिका उजुरी आउन थालेपछि प्रहरी चनाखो बनेको थियो।

उस्तै प्रकृतिका लुटपाट तथा चोरीका घटनामा एउटै समूहको संलग्नता हुन सक्ने अनुमान गर्दै प्रहरीले विशेष टोली परिचालन गरेको थियो। यही क्रममा गत शुक्रबार राति चोरी तथा लुटपाटमा संलग्न समूहका मुख्य नाइके कर्मा तामाङसहित ५ जनालाई पक्राउ गरिएको छ।

कर्मालाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड गोली चलाएको थियो। शुक्रबार राति बूढानीलकण्ठको चुनिखेलमा प्रहरीसँग उनको जम्काभेट भएको थियो। पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले उनको घुँडामुनि गोली चलाएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दिलीप घिमिरेका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएका ३४ वर्षीय समूहका नाइके कर्मा तामाङसहित ५ जना छन्। अन्य पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–१० का ३० वर्षीय प्रतिमान गोले, पनौती नगरपालिका–९ का ३० वर्षीय पासाङ घिसिङ, भुम्लु गाउँपालिका–९ का ३६ वर्षीय मनोज तामाङ र कास्कीको साराङकोटका २९ वर्षीय आले गुरुङ छन्।

यो समूहले काठमाडौं उपत्यकामा लुटपाटको आतंक मच्चाउँदै आएको प्रहरीले जनाएको छ। समूहले विशेष गरी सुनका सिक्री तथा कानमा लगाइने रिङ र टपहरू लुट्ने गरेको थियो। प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा उनीहरूले ४० देखि ५० वटा मोटरसाइकल चोरी गरी बिक्री गरेको स्वीकार गरेका छन्। उनीहरूले मोटरसाइकल चोरी गर्ने, नम्बर प्लेट परिवर्तन गर्ने र त्यही मोटरसाइकल प्रयोग गरी चोरी तथा लुटपाट गर्न निस्कने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार पक्राउ परेका कर्मा समूहका सबै सदस्यको पृष्ठभूमि आपराधिक रहेको छ।

समूहका नाइके कर्मा तामाङ विभिन्न कसुरमा ९ पटक जेल परिसकेका छन्। प्रहरीको सीआरएस रेकर्डअनुसार उनीविरुद्ध विभिन्न मितिमा विभिन्न प्रहरी कार्यालयमा चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। ३० वर्षीय प्रतिमान गोले लुटपाटका क्रममा मोटरसाइकल चलाउने (राइडर) को भूमिकामा रहेका व्यक्ति हुन्। उनी यसअघि पनि डाँका तथा चोरीको कसुरमा कारागार बसिसकेका छन्।

ललितपुरको नख्खु कारागारमा रहेका बेला उनी जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। पछि उनलाई बनेपाबाट पक्राउ गरिएको थियो र गत जेठमा मात्रै छुटेका थिए। उनीविरुद्ध डाँका तथा चोरीसम्बन्धी दुईपटक मुद्दा चलेको थियो। ४ जेठ २०८२ मा प्रहरी वृत्त महाराजगन्जबाट डाँका तथा चोरीमा मुद्दा दर्ता भएको थियो भने ४ साउन २०८२ मा पनि डाँका तथा चोरीकै कसुरमा अर्को मुद्दा दर्ता भएको थियो।

पासाङ घिसिङ लुटपाटका लागि प्रयोग हुने मोटरसाइकल चोरी गर्ने जिम्मेवारीमा थिए। प्रहरीले उनीबाट हालसम्म २० भन्दा बढी मोटरसाइकल चोरी भएको खुलेको जनाएको छ। कास्कीका आले गुरुङ लुटपाटका घटनामा रेकी गर्ने तथा सहयोगीको भूमिका निर्वाह गर्ने गरेका थिए।

काभ्रेका मनोज तामाङ सुन पसले हुन्। बनेपामा बस्दै आएका उनले लुटेर ल्याइएका सुनका गरगहना गलाउने, स्वरूप परिवर्तन गर्ने र बिक्री–वितरण गर्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यो समूहले उपत्यकामा आतंक नै मच्चाएको थियो। सुन लगाएर एक्लै हिँडिरहेका व्यक्तिलाई पछ्याउने, सुनसान स्थानमा पुग्नेबित्तिकै लुटपाट गर्ने र तत्काल फरार हुने उनीहरूको शैली थियो। घटनापछि मोटरसाइकलको नम्बर प्लेट तुरुन्तै परिवर्तन गर्ने भएकाले यो समूह लामो समयसम्म प्रहरीको निगरानीबाट बच्दै आएको थियो। पक्राउ पर्दा उनीहरूसँग विभिन्न मोटरसाइकलमा प्रयोग गर्न मिल्ने पाँचवटा नम्बर प्लेट प्लास्टिकमा बोकेर हिँडिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

चोरी वा लुटपाट गरेलगत्तै उनीहरूले नम्बर प्लेट परिवर्तन गर्ने गर्थे। विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको प्रोफाइल तयार गर्दै निगरानी बढाइरहेको प्रहरीले यही क्रममा कर्मा समूहलाई पहिचान गरी निगरानीमा राखेको थियो। त्यसपछि विशेष अपरेसन सञ्चालन गरी समूहका पाँचै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती हुन पुगेको स्वीकार गरेका छन् । सोमबार २४ औं बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् । ‘हामी प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फाल्ने, सरकार बनाउने, सरकार गिराउने, त्यसैमा सफलता देख्ने ...
जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले शैक्षिक परामर्श क्षेत्रलाई सरकारले नियन्त्रण नभई नियमन गर्न खोजेको स्पष्ट पारेका छन् । सोमबार काठमाडौंमा आयोजित ’शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ को कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावनाबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । सचेतक परियारले परामर्श व्यवसायीहरूलाई मानव बेचबिखनको ...
। बाजुरामा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । बडिमालिका-७ धम्कनेका ५१ वर्षीय रामे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । थापाको उपचारका क्रममा जिल्ला अस्पताल मार्तडीमा मृत्यु भएको हो । उनीकी श्रीमती नाम्सरी थापा पनि गम्भीर बिरामी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
। नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन विकास बजेटको खर्च बढाउनुपर्ने र खुला अर्थतन्त्रको मर्मअनुसार नीतिहरू तर्जुमा हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावना’ विषयक छलफलमा बोल्दै उपाध्यक्ष श्रेष्ठले वर्तमान बजेट संरचना ...