— सप्तरीका दुई स्थानीय तहमा जारी रहेको कर्फ्यु आदेश दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न २ घण्टा खुकुलो पारिएपछि स्थानीय बासिन्दालाइ सहज भएको छ । शनिबार बिहान जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिहान ७ देखि ९ बजेसम्मका लागि खुकुलो पारिएको थियो । सो समय सर्वसाधारण किनमेल र महत्वपूर्ण कामका लागि बाहिर निस्किएका थिए ।
जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था तथा नागरिकको दैनिक तथा अत्यावश्क कामकाज र असुविधालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकबाट सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जारी गरेको सूचनामा उल्लेख छ । ‘सो समयावधीभित्र हुलदंगा/अशान्ति फैलाउन/अन्य कुनै उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस भेला भइ उच्छृंखल गतिविधि गरे/गराइएको पाइएमा कानुन बमोजिम कारबाही भइजाने’ सूचनामा भनिएको छ, ‘९ बजेदेखि पुनः दुवै स्थानीय तहका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश अर्को सूचना नभएसम्मका लागि जारी नै रहेको ।’
सुनसरी घटनाले उत्पन्न भएको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै प्रशासनले बोदे बरसाइनमा बिहीबार राति १० बजेदेखि र राजविराजमा शुक्रबार बिहान ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको हो । राजविराजमा पूर्वतिर खाडो खोलादेखि पश्चिममा हुलाकी राजमार्गस्थित जमुनी थलहीसम्म तथा उत्तरतिर रुपनी रोडको बसविट्टी चोकदेखि दक्षिणमा कोशी पश्चिमी मुल नहरसम्मको क्षेत्रलाई चारकिल्ला तोकिएको छ भने बोदे बरसाइनमा पूर्वतिर हुलाकी राजमार्गको खडक पुलदेखि पश्चिममा पृत्तमपुर चोकसम्म तथा उत्तरतिर नेंगडा चोकदेखि दक्षिणतर्फ मानराजा चोकसम्मलाई चारकिल्ला तोकिएको छ ।