— नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ । शनिबार निगमले विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
साथै निगमले बजारमा १४.२ केजी एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न पनि आग्रह गरेको छ।
निगमले असार ३१ गतेको निर्णयअनुसार १४.२ केजी ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्था मिलाइएको र दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ । विभिन्न सञ्चारमाध्यममा बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ ।
निगमका अनुसार १४.२ केजी ग्यास सिलिन्डरको बिक्री सुरु भएपछि बजारमा ग्यास अभाव भएको भन्ने गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई सहज आपूर्ति सुनिश्चित गर्न निर्देशन हो । साथै, विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न आग्रह गरिएको छ ।
काठमाडौं उपत्यकामा बढ्दो मागलाई मध्यनजर गर्दै निगमले शनिबारदेखि टेकुस्थित कार्यालयबाट पनि नेपाल ग्यास, एनपी ग्यास, एस्ट्रे ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
निगमले ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र आफ्नो हटलाइन नम्बर ०१–५४१९१०२ मा सम्पर्क गर्न पनि उपभोक्तालाई अनुरोध गरेको छ ।
निगमले एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रहेको र आगामी दिनमा पनि निरन्तर रहने जनाउँदै आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको छ ।