— सुनसरीको देवानगन्जबाट सुरु भएको तनाव देशका विभिन्न स्थानमा फैलिएको भन्दै पूर्वकूटनीतिज्ञ, नागरिक अगुवा तथा बुद्धिजीवीहरूले सामाजिक सद्भाव, सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल गरेका छन् ।
शनिबार जारी अपिलमा दंगाबा क्रममा ज्यान गुमाएका सुनसरीका ओमप्रकाश मेहता, गणेश मेहता र सिरहाका गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै, मृतकका परिवारलाई राहत र घाइतेहरूको उपचार गर्ने सरकारको प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
अपिलमा धार्मिक, जातीय, भाषिक, भौगोलिक तथा सांस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै पछिल्ला घटनाले विशेषगरी तराई–मधेशका विभिन्न क्षेत्रमा सामाजिक सद्भाव र शान्ति–सुव्यवस्थामा असर परेको जनाइएको छ । भ्रामक र उत्तेजक सामग्री प्रचार–प्रसार, हिंसा भड्काउने गतिविधि तथा एकअर्काको धार्मिक आस्थामा चोट पुर्याउने कार्यले नेपालको सामाजिक एकता र स्थायित्वमा गम्भीर चुनौती सिर्जना गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
ads/1440x233ekantipurcomcombinesummerkv-0462026073435.jpg
संयुक्त अपिलमार्फत हिंसा फैलिएका तथा जोखिममा रहेका क्षेत्रमा सर्वपक्षीय बैठक र सामूहिक संवादलाई विस्तार गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न, पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरिएको छ ।
त्यस्तै, धर्मनिरपेक्षताको मर्मअनुसार सबै समुदायबीच सहिष्णुता र साम्प्रदायिक सहअस्तित्व कायम गर्न, सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने तथा कानुन हातमा लिनेहरूमाथि कानुनी कारबाही गर्न र भ्रामक सूचना नियन्त्रणका लागि प्रभावकारी सूचना प्रवाह तथा द्रुत प्रतिक्रिया संयन्त्र (र्यापिड रेस्पोन्स मेकानिज्म) सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।
अपिलमा नेपालको सामाजिक, धार्मिक, जातीय र भाषिक सद्भाव तथा भ्रातृत्व जोगाउन कुनै पनि हिंसात्मक वा द्वन्द्व बढाउने गतिविधिमा संलग्न नहुन र त्यस्ता गतिविधि हुन नदिन सबै राजनीतिक दल, धार्मिक तथा सामाजिक संघसंस्था, नागरिक समाज, बुद्धिजीवी र सर्वसाधारणलाई आह्वान गरिएको छ ।
ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
उक्त अपिलमा नीलाम्बर आचार्य, सूर्यप्रसाद श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, महेन्द्रबहादुर पाण्डे, विपिन शर्मा, सुशील प्याकुरेल, चैतन्य मिश्र, दुर्गेशमान सिंह, टंक कार्की, महेशकुमार मास्के, लीलामणि पौड्याल र विष्णुपुकार श्रेष्ठले हस्ताक्षर गरेका छन्।