— गृहमन्त्री सुदन गुरुङ र हिन्दु सम्राट सेनाबीच जनकपुरमा वार्ता सुरु भएको छ ।
तराई-मधेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका हुन् । जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा रहेको अधिकृत संगममा गृहमन्त्री गुरुङ र हिन्दु सम्राट सेनाका प्रतिनिधिबीच वार्ता भइरहेको हो ।
वार्तामा हिन्दु सम्राट सेनाका प्रतिनिधि र स्थानीय क्लबका प्रतिनिधिहरु सहभागी छन् । संघीय सांसद मनिष झा र राजकिशोर महतोको पनि उपस्थिति रहेको छ ।
हिन्दु सम्राट सेनाले सुनसरीको कप्तानगञ्जमा साउन १० गते गोली चल्नुअघि बन्द गरिएको विद्युत् आपूर्तिको छानबिन हुनुपर्ने, मृतकहरूलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र देश घोषणा गर्नुपर्ने माग राखेको छ ।
जनकपुरमा शुक्रबार सर्वपक्षीय बैठक बसेर तनाव मत्थर पार्न सहमति गरिएको थियो । उक्त सहमति अनुसार शनिबार बिहान जनकपुरमा सद्भाव र्याली निकालिएको थियो ।
सद्भाव र्यालीका क्रममा नै हिन्दु सम्राट सेनाले असहमति राख्दै जनकपुरमा प्रदर्शन गरेका थिए ।
सिराहाबाट अबेर राति धनुषाको लालगढस्थित गौतम होटलमा बसेका गृहमन्त्री गुरुङ शनिबार दिउँसो जनकपुर आएर वार्ता थालेका हुन् ।
प्रशासनले केही जिल्लाहरूबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन । सरकारले वार्ता र संवादका माध्यमबाटै सामाजिक सद्भाव कायम राख्दै समस्याको समाधान खोज्ने प्रयास गरिरहेको छ ।