। त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ । मधेश प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिविले एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो ।
त्रिविका रजिस्ट्रार महानन्द चालिसेले अनलाइनखबरसँग भने, ‘हाल असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेका छौं ।’
त्रिविका अनुसार रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाही क्याम्पस मलंगवा, जनज्योती बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिरहा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन् ।
यसैगरी महेन्द्र विन्देश्वरी बहुमती क्याम्पस राजविराज सप्तरी, नेशनल पिपुल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर रौतहट, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, सिमरा कलेज बारा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज केन्द्रका परीक्षा पनि स्थगित भएका छन् ।
यी बाहेकका अन्य केन्द्रमा भने पूर्वनिर्धारित तालिका बमोजिम नै परीक्षा सञ्चालन हुने त्रिविले जनाएको छ ।
स्थगित भएको परीक्षाको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने त्रिविका सहायक डीन डा. भरत राईले जारी गरेको सूचनामा उल्लेख छ ।