। नेपाल निर्माण व्यवसायी महासंघले अहिलेको विषम परिस्थितिमा उपयुक्त दरमा मात्र बोलपत्र पेस गर्न आफ्ना सदस्यलाई अनुरोध गरेको छ ।
हाल आह्वान भएका ठेक्कामा समेत पुरानै जिल्ला दरमा इस्टिमेट भएको, निर्माण सामग्री पनि सहज उपलब्ध नभएको स्थितिमा न्यून अंकमा बोलपत्र पेस गर्दा भविष्यमा विभिन्न प्रकारका जोखिम आउन सक्ने महासंघले जनाएको छ ।
महासंघ महासचिव शिवहरि घिमिरेले आर्थिक जोखिम विश्लेषण सहित अन्य कानुनी तथा प्राविधिक जटिलता दृष्टिगत गरी बोलपत्रमा सहभागी हुन अनुरोध गरेका छन् ।
घिमिरेले परियोजनाको स्थलगत भ्रमणपछि बोलपत्र कागजात अध्ययन गरी समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न आफ्नो क्षमता अनुसार मात्र काम गर्न सक्ने दरमा बोलपत्र पेस गर्न अनुरोध गरेका हुन् ।
मध्यपूर्वको युद्धका कारण गत फेब्रुअरी २८ देखि इन्धन, बिटुमिन लगायत निर्माण सामाग्रीमा भएको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिका कारण पूर्वाधार क्षेत्र धराशायी हुन पुगेको महासंघको भनाइ छ । मूल्यवृद्धि अनुपातमा निर्माण व्यवसायीले प्रचलित ऐन, नियम र नेपाल राष्ट्र बैंकको सूचकांक अनुसार पाउनुपर्ने मूल्य समायोजन नपाउँदा व्यवसायी आर्थिक मारमा परेकाले उपयुक्त दरमा मात्र बोलपत्र पेस गर्न व्यवसायीलाई ध्यानाकर्षण गराइएको महासंघ प्रवक्ता समेत रहेका नीतिगत उपाध्यक्ष मंगलबहादुर शाहीले बताए ।