सोनी र मार्भल स्टुडियोजको ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ आजदेखि विश्वभर प्रदर्शनमा आएको छ । नेपालमा त यसले २ करोड ६८ लाख रुपैयाँ ग्रसको कीर्तिमानी अग्रिम टिकट बिक्री गरेको छ ।
फिल्मले विश्वव्यापी बक्स अफिसमा अनुमानित ४६५ मिलियन अमेरिकी डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । केही हलिउड संचारमाध्यमले यो फिल्मले यो वर्षकै सबैभन्दा ठूलो ओपनिङ गर्ने प्रक्षेपण गरेका छन् ।
स्रोतका अनुसार, यो सोनीको अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वव्यापी ओपनिङ हुनेछ । यसअघि टम हल्यान्ड र जेन्डाया अभिनीत सन् २०२१ को ‘स्पाइडर-म्यानः नो वे होम’ ले विश्वभर ६००.५ मिलियन डलरको ओपनिङ गरेको थियो । सन् २००३ को ‘स्पाइडर-म्यान ३’ ले ३८१.६ मिलियन डलरको सुरुवात गरेको थियो ।
‘नो वे होम’ कोभिड महामारीपछिको सबैभन्दा ठूलो र विश्वव्यापी बक्स अफिस इतिहासकै तेस्रो ठूलो ओपनिङ गर्ने फिल्म हो । यसभन्दा अगाडि सन् २०१९ को ‘एभेन्जर्सः एन्डगेम’ १.२२ बिलियन डलर र सन् २०१८ को ‘एभेन्जर्सः इन्फिनिटी वार’ ६४०.५ मिलियन डलरसहित छन् ।
कोभिडपछिका विश्वव्यापी ओपनिङमध्ये ‘ब्रान्ड न्यू डे’ तेस्रो स्थानमा रहने अनुमान छ । यो ‘नो वे होम’ र सन् २०२५ को ‘जुपटोपिया २’ को ५६०.३ मिलियन डलरपछि रहनेछ ।
यसले सन् २०२२ को ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ को ४५२ मिलियन डलर, सन् २०२४ को ‘डेडपुल एन्ड वुल्भरिन’ को ४४४.७ मिलियन डलर, सन् २०२३ को ‘अवतारः द वे अफ वाटर’ को ४४१.७ मिलियन डलर र चिनियाँ एनिमेटेड सिक्वेल ‘ने झा २’ को ४३१.२ मिलियन डलरको ओपनिङलाई उछिन्ने प्रक्षेपण छ ।
यद्यपि, यो प्रक्षेपणमा धेरै अनिश्चितता छन् । प्रतिस्पर्धी स्टुडियो र चलचित्र उद्योगका धेरैले २२५ मिलियन डलर खुद निर्माण लागत रहेको फिल्मले अहिले सार्वजनिक अनुमानभन्दा निकै बढी कमाउन सक्ने विश्वास गरेका छन् ।
उत्तर अमेरिकामा फिल्मको अग्रिम टिकट बिक्री ८० मिलियन डलर पुगेको बताइएको छ । यो ‘स्पाइडर-म्यानः नो वे होम’ प्रदर्शनमा आउनुअघि भएको करिब ७८ मिलियन डलरको अग्रिम बिक्रीभन्दा केही बढी हो ।
एनआरजीले उत्तर अमेरिकाका ४ हजार ३०० हलबाट फिल्मले १९५ मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण गरेको छ । यो डिज्नी-पिक्सारको ‘टोय स्टोरी ५’ ले गरेको १५९.६ मिलियन डलरको ओपनिङलाई उछिन्दै सन् २०२६ कै उत्कृष्ट सुरुवात हुनेछ । तर अन्यले यो आँकडा २५० मिलियन डलरनजिक पुग्न सक्ने विश्वास गरेका छन् ।
सामान्यतः मार्भल चलचित्र हेर्न ढिलो पुग्ने २५ वर्षमुनिका महिलासमेत यसपटक सुरुवाती सप्ताहन्तमै आउने आकलन छ । जेन्डायासँगै ‘स्ट्रेन्जर थिङ्स’की सेडी सिंक कलाकार समूहमा सामेल हुनु पनि यसप्रतिको आकर्षण मानिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा फिल्मले करिब २७० मिलियन डलरको ओपनिङ गर्ने पूर्वानुमान छ । विदेशी बजारमा यसको तुलना २३३.३ मिलियन डलरको रिपोर्टेड ओपनिङ गरेको ‘डेडपुल एन्ड वुल्भरिन’सँग गरिएको छ ।
यति धेरै सावधानी अपनाइनुको कारण परिस्थिति र समय फरक हुनु हो । पाँच वर्षअघि ‘नो वे होम’ प्रदर्शन हुँदा कोभिडको प्रभाव कम हुँदै गएको देखिएपछि धेरै दर्शक हल फर्किन चाहन्थे । यद्यपि, फिल्म खुलेपछि ओमिक्रोन भेरियन्टको संक्रमण बढेको थियो ।
‘ब्रान्ड न्यू डे’ तीनवटा स्पाइडर-म्यान समेटिएको किसिमको फिल्म होइन । सोनी र मार्भलले यसको आकार ठूलो बनाउनुको सट्टा उच्च जोखिमपूर्ण प्रेमकथा र अस्थिर तथा भावनात्मक खलपात्रमार्फत कथालाई गहिरो बनाएका छन् ।
‘ब्रान्ड न्यू डे’ ले रटन टोमाटोजमा समीक्षकबाट ‘सर्टिफाइड फ्रेस’सहित ८९ प्रतिशत अंक पाएको थियो । यो ‘नो वे होम’को ९३ प्रतिशतभन्दा केही कम हो । प्रशंसकले टिकट किनिसकेका छन् । तर नियमित रूपमा हल नजाने दर्शक यही सप्ताहन्त फिल्म हेर्न पुग्छन् वा केही समय पर्खन्छन् भन्ने प्रश्न बाँकी छ ।
यो सन् २०१५ को ‘स्टार वार्सः द फोर्स अवेकन्स’जस्तो पुस्तामा एकपटक आउने सिक्वेल पनि होइन । उक्त फिल्म अघिल्लो प्रिक्वेल ‘रिभेन्ज अफ द सिथ’ रिलिज भएको १० वर्षपछि आएको थियो ।
१०० मिलियन डलरभन्दा बढी ओपनिङ गर्ने फिल्मको पूर्वानुमान नमिलेका उदाहरण पनि छन् । ठूलो फिल्मका हकमा बक्स अफिस स्रोतले कहिलेकाहीँ वास्तविकताभन्दा बढी प्रक्षेपण गर्छन्, यद्यपि फिल्मले शानदार सुरुवात नै गरेको हुन सक्छ ।
‘ब्रान्ड न्यू डे’ ले अमेरिकामा वर्षको अहिलेसम्मकै ठूलो ओपनिङ गर्ने अपेक्षासँगै युरोप र ल्याटिन अमेरिकाका अधिकांश बजारमा पनि सन् २०२६ कै कीर्तिमानी सुरुवात गर्ने अनुमान छ ।
विगतमा जस्तो ‘स्पाइडर-म्यान’ फिल्मले अत्यन्त ठूलो सुरुवात गर्ने अपेक्षा गर्न नसकिने भए पनि चीनमा ४५ मिलियन डलरको ओपनिङ प्रक्षेपण गरिएको छ। यो ‘टोय स्टोरी ५’ ले त्यहाँ हालसम्म कमाएको कुल ४१ मिलियन डलरभन्दा बढी हुनेछ।
चीनमा ‘ब्रान्ड न्यू डे’ ले स्थानीय फिल्म ‘द बिलिफ’को ओपनिङसँग प्रतिस्पर्धा गर्नेछ।
प्रमुख बजारको प्रदर्शन तालिकाअनुसार स्पाइडर-म्यान बुधबार अर्जेन्टिना, ब्राजिल, चीन, फ्रान्स, जर्मनी, मेक्सिको, स्पेन, दक्षिण कोरिया, इटाली, फ्रान्स र बेलायतका हलमा आइसकेको छ । बेलायतमा लन्डन प्रिमियरपछि साँझ ७ः३० बजेपछि प्रदर्शन सुरु हुनेछ ।
आजदेखि अस्ट्रेलिया, भारत र साउदी अरेबिया तथा शुक्रबार जापानका हलमा पुग्नेछ । यद्यपि, ‘ब्रान्ड न्यू डे’ रुसमा प्रदर्शन हुनेछैन ।
कोभिडपछि एसियाली बजारमा मोसन पिक्चर एसोसिएसनअन्तर्गतका हलिउड फिल्मको व्यापार घटेको भन्दै हलिउडले चिन्ता व्यक्त गर्दै आएको छ । कुनै समय बलियो बजार रहेको दक्षिण कोरियामा यस्तो गिरावट विशेष रूपमा देखिएको छ ।
‘ब्रान्ड न्यू डे’ दक्षिण कोरियामा सफल हुने अपेक्षा गरिए पनि त्यहाँ यसले तेस्रो सप्ताहमा चलिरहेको स्थानीय एलियन फिल्म ‘होप’सँग प्रतिस्पर्धा गर्नेछ । ‘होप’ले आइतबारसम्म २३.२ मिलियन डलर कमाएको छ ।