। सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सप्तरीको राजविराज र बोदेबरसाईनमा प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारीहरूले राजबिराजको नेता चोक, गजेन्द्र चोकलगायत विभिन्न स्थानमा प्रदर्शन गर्दै बजारका पसलहरू बन्द गराएका छन् ।
त्यसका कारण राजबिराज बजार क्षेत्रको जनजीवन प्रभावित बनेको छ । यस्तै, जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र बोदेबरसाईन बजारमा पनि प्रदर्शन गरिएको छ ।
साप्ताहिक हाटबजार लाग्ने दिन भएकाले प्रदर्शनका कारण व्यापारिक गतिविधि प्रभावित भएका छन् ।
सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि त्यसको प्रभाव मधेश प्रदेशका अन्य जिल्लामा समेत देखिन थालेको छ। त्यसैको विरोधस्वरूप सप्तरीमा पनि प्रदर्शन जारी रहेको हो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीमा बसेको सर्वपक्षीय सर्वदलीय बैठकले जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षा कायम राख्न आग्रह सार्वजनिक अपिल गरेको छ ।