— सडक पूर्वाधार विकासले गति लिइरहँदा सवारी दुर्घटनाको जोखिम पनि उच्च बन्दै गएको छ । पूर्वी र पश्चिम नवलपरासीमा आर्थिक वर्ष २०८२/८३ मा ७ सय ५४ वटा सवारी दुर्घटना हुँदा १ सय १६ जनाले ज्यान गुमाएका छन् ।
पश्चिम नवलपरासीमा आर्थिक वर्ष ०८२/८३ मा ६ सय ३६ वटा सवारी दुर्घटनामा परेर ४७ जनाको मृत्यु भएको छ भने ७ सय २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डीएसपी मदन थापाले बताए ।
प्रहरीका अनुसार आर्थिक वर्ष ०८१/८२ मा ३ सय ७८ वटा दुर्घटनामा ४६ जनाको मृत्यु र ६ सय ५ जना घाइते भएका थिए । आर्थिक वर्ष ०८०/८१ मा १ सय ९५ वटा दुर्घटनामा २० जनाको मृत्यु र १ सय ६६ जना घाइते भएका थिए ।
यसैगरी पूर्वी नवलपरासीमा आर्थिक वर्ष ०८२/८३ मा १ सय १८ वटा दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार अधिकांश दुर्घटना चालकको असावधानी र ट्राफिक नियम उल्लङ्घनका कारण भएको देखिएका छन् ।
आर्थिक वर्ष ०८०/८१ मा १ सय ३५ वटा दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने ०८१/८२ मा १ सय १० वटा दुर्घटनामा ४४ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक कुशल बर्तौलाले बताए । १ सय १८ वटा दुर्घटनामध्ये १ सय १० वटा दुर्घटना चालकको लापरबाहीका कारण भएको देखिएको छ ।
वर्षौंसम्म धूलो र खाल्डाखुल्डीले आक्रान्त पारेको बुटवल–नारायणगढ सडक खण्डमा अहिले कुनै अवरोध छैन । फराकिलो सडकमा सवारी चालकले तीव्र गतिमा सवारी हाँकिंरहेका छन् । सडक जति चिल्लो र फराकिलो बन्दै गएको छ, दुर्घटनाको दर पनि उत्तिकै बढ्दो छ ।
दुई लेनको साँघुरो सडकमा यात्रा गरिरहेको र जहाँ पायो त्यहींबाट सडक पार गर्ने बानी परेका यात्रु र सवारी चालकले अहिले फराकिलो सडकमा तोकिएभन्दा तीव्र गतिमा सवारी हाँक्ने र सडक लेनको पालना नगर्दा दुर्घटना बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक बर्तौलाले बताए ।
‘अहिले भएका अधिकांश दुर्घटना चालकको लापरबाही र तीव्र गतिका कारण भएको देखिन्छ,’ उनले भने, ‘नयाँ सडकमा ट्राफिक नियमको पालना नगर्ने र निर्माणाधीन सडकमा ट्राफिक चिन्हहरू राख्ने काम भइरहेका कारणले पनि समस्या बढेको छ ।’