: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नै संवाद गर्नुपर्नेमा जोड दिएका छन् । आज बिहान रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकबाट बाहिरिँदै सञ्चारमाध्यम र दलसँग संवाद गर्नुपर्नेमा जोड दिए।
थापाले प्रधानमन्त्री बालेन शाह बैठकमा सहभागी नभएको र संवाद अगाडि नबढाएको प्रतिसमेत आपत्ति जनाए। राष्ट्रमा समस्या आउँदा विगतमा दलका आ-आफ्नो विमति भएपनि प्रधानमन्त्री र दलसँगै बसेर छलफल गरेको स्मरण गराए।
‘प्रधानमन्त्रीले यस्तो बेलामा नेपालका मिडिया बोलाएर किन छलफल नगरेको ? सरकारको तर्फबाट संवाद गर्नुपर्दैन। धार्मिक नेताको पनि महत्त्व हुन्छ यस्तो समयमा। हामीले भनेको नमानेको अवस्थामा धार्मिक नेताले भनेको मान्ने समुदाय पनि छन्, उनीहरुलाई बोलाएर प्रधानमन्त्रीले संवाद गर्नुपर्छ। उनले भने, ‘प्रधानमन्त्री यस्तो बेलामा प्रधानमन्त्री जस्तो बन्नुपर्छ। म एक्लै गर्छु भनेर हुँदैन। म पुराना कुरा केही पनि गर्दिनँ, पहिलेको जस्तो होइन भनेर हुँदैन।’
उनले एक्लै काम गर्छु भनेर नसकिने भएकाले सामुहिक काम गर्नुपर्ने बताए। साझा विषयमा सत्तापक्षको हैसियतले रास्वपाले बैठक राख्नु स्वभाविक भएको उनको भनाई छ।
सिंहदरबारमा जारी बैठकमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा उपसभापति एवम् अर्थमन्त्री स्वर्णिम वाग्ले,राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई, जनमतका अध्यक्ष सिके राउत, लगायतका मधेस केन्द्रित दलका नेता र सांसदहरूलाई सहभागी छन्। तर प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरुङ बैठकमा सहभागी भएनन्।