। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबीच मंगलबार मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटमा नेपाल र रुसबीच व्यापार तथा आर्थिक सम्बन्ध थप विस्तार गर्ने, व्यापार सहजीकरणमा सहकार्य बढाउने र दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच व्यापार तथा आर्थिक फोरम मार्फत भइरहेको सहकार्य अझ प्रभावकारी बनाउने दिशामा वर्तमान नेपाल सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले दुई देशबीचको आर्थिक तथा औद्योगिक सहकार्य आगामी दिनमा अझ मजबुत हुने अपेक्षा पनि व्यक्त गरे । राजदूत सुरोभ्त्सेभले रुसका आर्थिक विकासमन्त्रीका तर्फबाट उद्योगमन्त्री यादवलाई रुस भ्रमणका लागि औपचारिक निमन्त्रणा हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्री यादवले उक्त निमन्त्रणा स्वीकार्दै दुई देशबीचको सहकार्य थप उचाइमा पुर्याउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरिन् ।
भेटवार्तामा मन्त्री यादवले नेपालमा हाल बन्द रहेका सरकारी उद्योगहरू पुन: सञ्चालनका लागि रुस सरकारको प्राविधिक तथा आवश्यक सहयोगको अपेक्षा रहेको बताइन् ।
विशेषगरी हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग पुन: सञ्चालनका लागि सहकार्य गर्न प्रस्ताव उनले राखिन् । मन्त्री यादवको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै राजदूत सुरोभ्त्सेभले रुस सरकारसँग आवश्यक समन्वय गरी नेपालले उठाएका प्रस्तावमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।