। निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत रहेको छ।
सुरुङभित्र गर्नुपर्ने निर्माण र फिनिरसिङ्गको काम सकेर आगामी कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी आयोजनाले गरेको छ । आयोजनाकी इन्जिनियर निशा बेल्वासेका अनुसार अहिले निर्माणको काम तीव्र बनाएर आउने कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी छ ।
आयोजनाले असोज मसान्तभित्रै सवारी संचालन गर्ने गरी काम गरिरहेको थियो । तर, मौसमका कारण निर्माण सामाग्री केरुङ्ग नाकामा रोकिंदा कामले गति लिन नसक्दा एक महिना थप गरी कात्तिक मसान्तभित्र सञ्चालनको तयारी गरिएको बेल्वासेले जानकारी दिइन् ।
पाँच वर्षमा निर्माण सक्नेगरी सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्डको दोभान सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माण सुरु भएको थियो । २०७८ साल फागुनमा ठेक्का सम्झौता गरिएको सुरूङ मार्ग निर्माणको काम भने ७९ को अन्तिमतिर मात्र सुरू भएको थियो ।
२०८१ माघ ११ गते सुरूङ मार्गको ब्रेक थ्रु हुँदा ४० प्रतिशत काम सम्पन्न भएको थियो । आयोजनाका अनुसार निर्माण कम्पनीले २०८३ चैत्र मसान्तसम्म सुरूङ मार्ग निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भएपनि सन २०२८ को जुन महिनाभित्र सम्पूर्ण कार्यहरु सम्पन्न गर्नेगरी १५ महिना म्याद थप गरेर निर्माणको काम गरिएको छ ।
समयमा काम सम्पन्न नहुने भएपछि निर्माण कम्पनीको माग अनुसार १५ महिना म्याद थप गरि निर्माण कार्य जारी रहेको इन्जिनियर बेल्वासेले बताइन् ।
सुरूङ मार्गको निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हालसम्म मुख्य सुरूङको सिभिलको काम पुरा गरी विद्युतीकरण र प्रवेशद्वारको काम गरेको छ ।
सुरूङ मार्गबाट सवारीसाधन सञ्चालन गरेपछि मात्र बाहिरी सडक स्तरोन्नति, बाइपास सुरूङ, रक सेट र स्लोप निर्माणको काम सुरू गरिने बताइएको छ ।
निर्माण कम्पनीले सुरूङ मार्गसँगै दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने सम्झौतामा उल्लेख छ।
सुरूङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरको जोखिमयुक्त क्षेत्रमा पैदल यात्रीका लागि रक सेडभित्रको बाटो प्रयोगमा ल्याइने र बाहिरी भागबाट खानेपानीको व्यवस्थापन गरिने योजना छ। आपत्कालीन निकासका लागि तीन वटा बाइपास सुरूङ खनिएका छन्।
आयोजनाका अनुसार दुवैतर्फको रिबसहित ११२६ मिटर लम्बाइको सुरूङ मार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
सिद्धार्थ राजमार्गको सबै भन्दा जोखिको क्षेत्र मानिने सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग बनेपछि तराई र पहाड तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने विश्वास गरिएको छ।