। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै थापाले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका हुन् ।
‘सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा भएको घटनाप्रति म गहिरो दु:ख व्यक्त गर्दछु। यस दु:खद घटनामा ज्यान गुमाउनुभएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘साथै, घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
उनले सरकारलाई नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै प्रश्न पनि गरेका छन् । सामाजिक सद्भावमा असर पर्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ संयमित, सतर्क हुनुपर्ने उनको भनाइ छ ।
‘सरकारसँग प्रश्न छ- नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो? सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपर्थ्यो,’ उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘परिस्थितिलाई समयमै आंकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु अत्यन्त दु:खद् छ।’
घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न उनको माग छ। घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन कुनै ढिलाइ नगर्न पनि उनले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘हाम्रो आग्रह छ,- अवस्था थप जटिल बन्न नदिन प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिलाई अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले व्यवस्थापन गरियोस्,’ उनले थप भनेका छन्, ‘यस कठिन घडीमा संयमता र सदभाव महत्वपुर्ण रहन्छ। कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप प्रतिकुल हुन नदिन तथा सामाजिक सदभाव कायम राख्नको लागि योगदान गर्न सम्पूर्ण स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज, राजनीतिक दललगायत सवैमा हार्दिक अपील गर्दछु।’ सभापति