: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा पछिल्लो समय सुशासनको कमी देखिएको बताए । सोमबार साँझ महोत्तरीको गौशालास्थित इन्जिनियरिङ कलेज अनुगमनका क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन्। आफूले गरेको अनुगमनका क्रममा त्यहाँका विद्यार्थी, क्याम्पस सञ्चालक तथा शिक्षाप्रेमीहरूसँग भएको छलफलबाट सो तथ्य पत्ता लागेको उनले जानकारी दिए।
मन्त्री पोखरेलले भने, ‘विश्वविद्यालयहरूले समयमा परीक्षा नलिनु र नतिजा सार्वजनिक नगर्नु जस्ता गतिविधि यसका प्रत्यक्ष उदाहरण हुन्। सरकारले यस प्रवृत्तिलाई क्रमिक रूपमा सच्चाउँदै अगाडि बढाउनेछ।’
त्यस्तै मन्त्री पोखरेलले सोमबार दिउँसो बर्दिबास नगरपालिका–११, खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको निरीक्षण तथा अवलोकनका क्रममा आफू भाषणभन्दा कामलाई प्राथमिकता दिने स्पष्ट पारे।
हाल सञ्चालनमा रहेका सम्पूर्ण संकाय (फ्याकल्टी) हरूलाई प्रभावकारी रूपमा सञ्चालन गरी पठनपाठनलाई थप व्यवस्थित र गुणस्तरीय बनाउनमा पनि उनले जोड दिए।
स्थानीयहरूले मन्त्रीको निर्देशन कार्यान्वयन भई शिक्षालयमा आवश्यक सबै संकायहरू सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्।