: राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीको गोली लागी ओमप्रकाश मेहताको मृत्यु भएपछि उत्पन्न भएको घटनामा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको हो।
घटनाको विरोधमा ठाउँ ठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी, रड लगायतका सामग्री बोकेर प्रदर्शन गरिरहेका पाइएको भन्दै आयोगले सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्याउन अनुरोध गरेको छ।
घटनापश्चात् सुनसरीमा देखा परेको कमजोर शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ।
साथै, शान्तिपूर्ण रूपमा वार्ता र संवादकै माध्यमबाट विवादको समाधान खोजी वातावरणलाई सहज बनाउँदै सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्याउन आयोग राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवं सर्वसाधारणलाई अनुरोध गरेको छ। आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले घटनाका सम्बन्धमा प्रारम्भिक अनुगमन गरिरहेको पनि जनाएको छ।