। पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले अन्तिम लिग खेल सोमबार उज्वेकिस्तानसँग खेल्दैछ ।
इस्लामावादस्थित लियाकत जिम्न्यासियममा खेल नेपाली समय अन्सार विहान ११:१५ बजे सुरु हुनेछ ।
अहिलेसम्म खेलेको चार वटै खेलमा पराजित भएको नेपाल अझै पहिलो जितको खोजीमा छ । उज्वेकिस्तानले भने चार मध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो ।
नेपालले खेलेको चार मध्ये तीन खेलमा पाँचौ सेटमा पुगेर पराजित भएको थियो भने पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । नेपालको खातमा जम्मा ३ अंक मात्र छ र ६ टोली सहभागि च्याम्पियनसिपमा पूछारमा छ ।
शीर्ष चारमा रहेर सेमिफाइनल पुग्ने नेपालको सम्भावना झिनो मात्र छ । सेमिफाइनल नेपालले उज्वेकिस्तानलाई सोझो सेटमा हराएर अन्य खेलको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ ।
घरेलु टोली पाकिस्तान चारै खेलमा जित हात पार्दै शतप्रतिशत नतिजाका साथ १२ अंक जोडेर शीर्ष स्थानमा छ । उज्वेकिस्तान र बंगलादेशको समान ६ अंक छ भने श्रीलंकाको ५ र कजाखस्तानको ४ अंक छ ।
सोमबारै बंगलादेश र श्रीलंका तथा पाकिस्तान र कजाखस्तानबीचको पनि खेल हुनेछ । लिग चरणको अन्तिम तीन खेलपछि सेमिफाइनल समिकरण तय हुनेछ भने पाँचौ स्थानको प्लेअफका लागि खेल्ने टिमको पनि टुङ्गो लाग्नेछ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।
पूछारको दुई टोलीले पाँचौ स्थानको लागि प्लेअफ खेल्नेछन् ।