मुख्य समाचार
विरोधमा वीरगन्जका अस्पतालमा अनिश्चितकालीन हडताल, आकस्मिक सेवासमेत प्रभावित
विरोधमा वीरगन्जका अस्पतालमा अनिश्चितकालीन हडताल, आकस्मिक सेवासमेत प्रभावित

— नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा वीरगन्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूले आइतबारदेखि अनिश्चितकालीन हडताल सुरु गरेका छन्। आन्दोलनका कारण नारायणी अस्पतालसहित सरकारी, सामुदायिक, निजी अस्पताल र मेडिकल कलेजमा आकस्मिक सेवासमेत प्रभावित भएको छ।

शनिबार अस्पतालको आकस्मिक कक्षमा ल्याइएका वीरगन्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आफन्त र गाउँलेले आक्रोशित भई अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न डा प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए। गम्भीर घाइते डा राम अहिले अस्पतालको आईसीयूमा उपचाररत छन्।

घटनापछि शनिबार साँझ अस्पताल प्रशासन, पीडित पक्ष र प्रहरी प्रशासन बसेर घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको थियो। साथै आकस्मिक कक्षमा कार्यरत डा प्रमोद राम, डा रामकिशोर सिंह, स्वास्थ्यकर्मीहरू प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरिएको थियो।

यही निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघ, नारायणी शाखाको आह्वानमा आइतबारदेखि वीरगन्जका सम्पूर्ण सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। संघका अध्यक्ष डा मनोजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले माग पूरा नभएसम्म आकस्मिक सेवासमेत बहिष्कार गर्दै सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ।

संघले अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणमा संलग्नलाई मुलुकी अपराध संहिता, २०७४ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०७९ (संशोधनसहित) बमोजिम तत्काल मुद्दा दर्ता गरी कडा कारबाही गर्न माग गरेको छ।

त्यस्तै, घटनापछि निलम्बन गरिएका पाँचै जना चिकित्सक तथा स्वास्थ्यकर्मीको निलम्बन तत्काल फिर्ता लिन, छानबिन समिति खारेज गर्न तथा चिकित्सक र स्वास्थ्य संस्थामाथि हुने अनधिकृत हस्तक्षेप, अनावश्यक दबाब र सार्वजनिक रूपमा गरिने चरित्रहत्या जस्ता गतिविधि रोक्न पनि संघले माग गरेको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर, धम्की वा दबाबबिना सुरक्षित वातावरणमा पेसागत दायित्व निर्वाह गर्न सक्ने गरी प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने मागसमेत संघले अघि सारेको छ। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...
। कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा ...